हिमपातका कारण मध्यपहाडी लोकमार्ग अझै अवरुद्ध, हिउँ पन्छाउने काम जारी

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अझै अवरुद्ध, हिउँ पन्छाउने काम जारी

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । बुधबार दिनभर परेको हिमपातका कारण सडकमा जमेको हिउँ पन्छाउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बुधबार सडकमा फसेका करिब तीन सय यात्रुको उद्धार गरिएको थियो । आज बिहानदेखि पुनः सडकमा जमेको हिउँ हटाउने काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले जानकारी दिए । उनका अनुसार रुकुम पूर्वतर्फको करिब तीन किलोमिटर सडक खण्डमा परेको हिउँ पन्छाउने कार्य भइरहेको छ ।

बागलुङतर्फको सडक खण्डमा परेको हिउँ पनि पन्छाइसकेपछि मात्र लोकमार्ग सञ्चालन हुन सक्ने प्रनाउ यादवले बताए । काठमाडौँबाट रुकुम पूर्व, रुकुम पश्चिम तथा डोल्पातर्फ छुटेका बसहरू हिमपातका कारण पातिहाल्नामा फसेका थिए । ती बसका यात्रुलाई बुधबार उद्धार गरी केहीलाई रुकुम पूर्व ल्याइएको थियो भने केही यात्रुलाई बागलुङको बुर्तिबाङ पुर्‍याइएको थियो ।