लुम्बिनी प्रदेशसभा बैठक आज, चारवटा मुख्य सम्भावित कार्यसूची तय

लुम्बिनी प्रदेशसभा बैठक आज, चारवटा मुख्य सम्भावित कार्यसूची तय

काठमाडौँ । लुम्बिनी प्रदेशसभा बैठक मंगलबार दिउँसो १ बजे बस्दै छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकमा चारवटा मुख्य सम्भावित कार्यसूची तय गरिएका छन् । बैठकको सुरुवातमा सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभा सदस्यको स्थान रिक्त भएको सम्बन्धी जानकारी सभालाई गराउनेछन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी दिनुअघि चार जना प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन् । २०७९ को निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट दाङ निर्वाचन क्षेत्र नं. ३ (२) बाट निर्वाचित धनबहादुर मास्की र बाँके १ (१) बाट निर्वाचित कृष्णा केसी, साबिक नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया १ (१) बाट निर्वाचित धर्मबहादुर चौधरी तथा लोकतान्त्रिक समाजवादी पार्टीबाट रूपन्देही ४ (१) बाट निर्वाचित कह्नैया बानियाले राजीनामा दिएका हुन् । हाल लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ ।

बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची पनि रहेको छ । साथै, जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गरिनेछ ।

त्यसपछि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गर्ने कार्यतालिका छ । सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री आचार्यले दिनेछन् ।

प्रदेशसभा सचिव पुन मगरका अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले उक्त विधेयकमा प्रदेशसभा सदस्यलाई समेत तालिम दिने व्यवस्था गरिएको विषयमा आपत्ति जनाउँदै पुनर्विचारका लागि फिर्ता पठाएका हुन् । लुम्बिनीका कर्मचारीलाई तालिम दिने उद्देश्यले ल्याइएको विधेयकमा प्रदेशसभा सदस्यलाई पनि तालिम दिने व्यवस्था गरिएकोप्रति असहमति जनाउँदै छलफलका लागि फिर्ता गरिएको सचिव पुनले जानकारी दिए ।

यसका अतिरिक्त विधेयकका अन्य दुई बुँदामा समेत छलफल गर्न प्रदेश प्रमुख घर्ती मगरले सुझाव दिएका छन् ।