

काठमाडौँ । भारतमा आज ७७औँ गणतन्त्र दिवस मनाइँदैछ। हरेक वर्ष जनवरी २६ मा संविधान लागू भएको स्मरणमा मनाइने यो दिवस सन् १९५० जनवरी २६ मा भारतको संविधान कार्यान्वयनमा आएको दिनसँग जोडिएको छ। ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भई सार्वभौम भारतीय सरकारले नयाँ संविधान जारी गरेको अवसरमा भारतभर तथा विदेशस्थित भारतीय दूतावासहरूमा विभिन्न कार्यक्रम आयोजना हुँदैछन्।
दिवसका अवसरमा राजधानी नयाँ दिल्लीमा विशेष समारोह आयोजना गरिनेछ, जहाँ भारतको विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गरिनेछ। समाचार एजेन्सी पीटीआईका अनुसार परेडमा नवगठित सैन्य एकाइहरूका साथै ‘अपरेशन सिन्दूर’का क्रममा प्रयोग गरिएका प्रमुख हतियार प्रणालीहरूको मोडेलसमेत प्रस्तुत गरिनेछ।
यस वर्षको गणतन्त्र दिवस समारोहमा युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो लुइस सान्तोस दा कोस्टा र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
मुख्य समारोह राजधानी दिल्लीको कर्तव्य पथमा आयोजना हुनेछ। राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रिय झण्डा फहराएसँगै कार्यक्रम बिहान १०:३० बजे सुरु भई करिब ९० मिनेटसम्म चल्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। परेड सुरु हुनु अघि करिब १०० सांस्कृतिक कलाकारहरूले ‘विविधतामा एकता’ विषयमा सांस्कृतिक प्रस्तुति दिनेछन्।
परेडका क्रममा वायुसेनाका २९ विमानहरूले फ्लाइपास्ट गर्नेछन्। यसमा १६ लडाकु विमान, ४ यातायात विमान र ९ हेलिकप्टर समावेश छन्, जसले आठवटा विभिन्न संरचना बनाउनेछन्।
गणतन्त्र दिवस समारोहलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले उच्च सतर्कता अपनाएको छ। शहरभर बहुस्तरीय सुरक्षा व्यवस्थाअन्तर्गत ३० हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ। औपचारिक परेड मार्ग र उच्च-सुरक्षा क्षेत्र रहेको नयाँ दिल्ली जिल्लामा मात्रै करिब १० हजार प्रहरी खटाइएको दैनिक भास्करले जनाएको छ।
परेड मार्ग र आसपासका क्षेत्रमा उन्नत भिडियो विश्लेषण तथा अनुहार पहिचान प्रणाली जडान गरिएका ३ हजारभन्दा बढी सीसीटीभी क्यामेराबाट निगरानी भइरहेको छ। यी क्यामेराका प्रत्यक्ष दृश्य ३० भन्दा बढी नियन्त्रण कक्षबाट करिब १५० सुरक्षाकर्मीले निगरानी गरिरहेका छन्।