

काठमाडौं। कर्णाली प्रदेशमा राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज बिहान ९ बजेदेखि मतदान जारी छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार बिहान ११ बजेसम्म १६८ जनाले मतदान गरिसकेका छन्, जसले कर्णालीको चुनावी सरगर्मीलाई स्पष्ट देखाएको छ।
मतदान गर्नेहरूमा प्रदेशसभा सदस्यतर्फ महिला १३ र पुरुष २५ गरी ३८ जना छन् भने स्थानीय तहतर्फ महिला ४९ र पुरुष ८१ गरी १३० जनाले मतदान गरिसकेका छन्। कर्णालीबाट यसपटक दुई जना राष्ट्रियसभा सदस्य चयन हुँदैछन्।
निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक्लै प्रतिस्पर्धामा उत्रिएको छ। दुई सिटका लागि चार जना उम्मेदवार चुनावी मैदानमा छन्। कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही र एमाले केन्द्रीय सदस्य मिनासिंह रखाल उम्मेदवार छन्। यता, नेकपाबाट रुकुमपश्चिमका बुद्धिप्रसाद शर्मा र डोल्पाकी अञ्जु महतारा शाही प्रतिस्पर्धामा छन्।
हाल कर्णाली प्रदेशबाट महिलातर्फ सुर्खेतकी सुमित्रा बीसी र अन्यतर्फ जाजरकोटका मायाप्रसाद शर्माको राष्ट्रियसभा सदस्यको पदावधि फागुनमा सकिँदैछ। बीसी एमाले र शर्मा तत्कालीन माओवादी केन्द्रको कोटाबाट राष्ट्रियसभा सदस्य बनेका थिए।