

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो।
बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिँदै उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेको र सो प्रस्ताव बैठकले सर्वसम्मत रूपमा पारित गरेको बताए।
कांग्रेसले मुलुकको वर्तमान विशिष्ट परिस्थितिको मागलाई सही ढंगले सम्बोधन गर्ने अठोटस्वरूप यो निर्णय गरिएको जनाएको छ। उपसभापति शर्माले सभापति थापाले परिवर्तित समय र जनभावनालाई ‘डाइनामिक ढंगले’ नेतृत्व गर्न सक्ने क्षमता रहेको विश्वास व्यक्त गरे।
उनले गगन थापाको नेतृत्व क्षमताबारे उल्लेख गर्दै भने, “जुझारु र विद्रोही छवि मात्र होइन, प्रतिकूल परिस्थितिमा संयम राख्दै विषयवस्तुलाई परिपक्व ढंगले समाधान गर्न सक्ने क्षमता पनि गगन थापासँग छ। उत्तेजना र आवेगको राजनीति न त सुसंस्कृत हुन्छ, न त दीर्घजीवी।”
संयमित भाव र सौम्य प्रवृत्तिलाई अघि बढाउन सक्ने सामर्थ्य थापासँग रहेको उल्लेख गर्दै शर्माले भने, “यो समग्र अठोटको बलियो कमान्ड प्रधानमन्त्रीका रूपमा हाम्रो सभापतिबाट हुन सक्छ भन्नेमा हामी दृढ रूपमा विश्वस्त छौँ