

काठमाडौं । नेपाली कांग्रेसले चुनावलाई केन्द्रमा राख्दै माघ १६ गते मधेस सभा गर्ने भएको छ । जनकपुरमा आयोजना हुने उक्त सभाका लागि कांग्रेस मधेस प्रदेश कार्यसमितिलाई परिचालन गरिने पार्टीका एक पदाधिकारीले जानकारी दिए ।
मधेस सभासम्बन्धी निर्णय आज बस्ने केन्द्रीय समिति बैठकबाट हुने बताइएको छ । कांग्रेसले देशका विभिन्न स्थानमा चुनावकेन्द्रित सभाहरू गर्ने तयारी गरिरहेको सन्दर्भमा मधेस सभालाई महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ ।
सभापति गगन थापासहित कांग्रेसका शीर्ष नेताहरू माघ ११ गते मधेस जानेछन् । १२ गते उनीहरू सर्लाही पुग्ने कार्यक्रम तय भएको छ । सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार छन् ।
विशेष महाधिवेशनबाट पुस ३० गते गगन थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको थियो । उक्त कार्यसमितिका पदाधिकारीहरूले आज पदबहाली गर्ने कार्यक्रम छ ।
यसैबीच, आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकले संगठनात्मक निर्णयसँगै भावी प्रधानमन्त्री उम्मेदवारका रूपमा सभापति गगन थापालाई तोक्ने निर्णय गर्ने तयारी गरेको बताइएको छ ।