नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा राजीनामा

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा राजीनामा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शुक्रबार (माघ ९)देखि केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हाल्ने भएपछि उनले पद छाडेका हुन् ।

पौडेललाई २०७२ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्यसचिवमा नियुक्त गरेका थिए । राजीनामाबारे प्रतिक्रिया दिँदै उनले भने, ‘मैले स्वेच्छाले राजीनामा दिएको हुँ । नवनिर्वाचित सभापतिलाई आफ्नै शैलीमा काम गर्न सहज होस् भन्ने मेरो चाहना हो । साथै, म आफ्नो निर्वाचन क्षेत्रमा पनि खटिनुपर्ने अवस्था छ ।’

उनले सभापति थापा वा पार्टीका अन्य कुनै नेताले राजीनामा दिन दबाब नदिएको स्पष्ट पार्दै यो निर्णय पूर्ण रूपमा आफ्नै स्वविवेकबाट गरिएको बताए ।

उल्लेखनीय छ, गगन थापा पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन् ।