दुवै अध्यक्षलाई स्थानीय नेताको प्रश्नः उपचुनाव किन ?

दुवै अध्यक्षलाई स्थानीय नेताको प्रश्नः उपचुनाव किन ?

काठमाडौं, २५ असोज । वामदेव गौतमलाई उपचुनावमार्फत संसद्मा ल्याउनुपर्ने कारण स्पष्ट पारेर मात्र काठमाडौं ७ खाली गराउन स्थानीय नेताहरूले नेकपाका अध्यक्षद्वयलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले राजीनामा दिने र गौतमलाई त्यहाँबाट उठाउने तयारीपछि उक्त क्षेत्रका नेता बुधबार केपी ओली र पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका थिए । यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौ ।

प्रदेश सांसद वसन्त मानन्धर, प्रकाश श्रेष्ठ र न्हुच्छेकाजी श्रेष्ठले दुई अध्यक्षलाई स्थानीय वस्तुस्थिति अवगत गराए । उनीहरूले अकस्मात् काठमाडौं ७ खाली गर्ने कुरा आउँदा मतदाता र पार्टी कार्यकर्ता अन्योलमा परेको बताए । न्हुच्छेकाजी यसअघि उक्त क्षेत्रका निर्वाचन परिचालन कमिटी संयोजक थिए । तीनै जनाले जनमत र गौतमबारे भइरहेका टीकाटिप्पणी अध्यक्षहरूलाई सुनाएका थिए ।