एमाले सचिवालय बैठक आज, प्रतिनिधिसभा उम्मेदवार टुंग्याइँदै

एमाले सचिवालय बैठक आज, प्रतिनिधिसभा उम्मेदवार टुंग्याइँदै

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने उद्देश्यसहित बैठक बोलाइएको हो ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ । निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन गर्नुपर्ने भएकाले त्यसअगावै उम्मेदवारको टुंगो लगाउन सचिवालय बैठक बस्न लागेको नेताहरूले बताएका छन् ।

एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी तथा प्रदेश कमिटीहरूले यसअघि नै उम्मेदवारका नाम सिफारिस गरिसकेका छन् । ती सिफारिसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत रूपमा अघि बढाइएको छ ।

हालसम्म कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा सूर्य चिह्न लिएर आफ्नै उम्मेदवार मैदानमा उतार्ने तयारी गरेको छ । यसअघि बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोटको जिम्मेवारी सचिवालयलाई दिने निर्णय गरेको थियो ।

प्रतिनिधिसभा निर्वाचनका लागि मतदान आगामी फागुन २१ गते हुने तय भएको छ ।