कांग्रेस विवाद चर्किँदा निर्वाचन आयोग परिसरमा कडा सुरक्षा, वाटर क्यानन तैनाथ

कांग्रेस विवाद चर्किँदा निर्वाचन आयोग परिसरमा कडा सुरक्षा, वाटर क्यानन तैनाथ

काठमाडौं । आसन्न निर्वाचनको तयारीसँगै निर्वाचन आयोग परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताको दाबी गर्न दुवै पक्षका नेता तथा कार्यकर्ताको आवतजावत बढेपछि आयोगले सुरक्षा सतर्कता बढाएको हो ।

हाल निर्वाचन आयोगको मुख्यद्वारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने सम्भावित अवस्था सामना गर्न बाहिर ‘वाटर क्यानन’ पनि तयारी अवस्थामा राखिएको छ । शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र गगन थापा नेतृत्वको कांग्रेसका नेताहरूले आजै आयोग पुगेर आ–आफ्नो पक्ष आधिकारिक भएको दाबी गरेका थिए ।

यसअघि केही समय थापा नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू आयोग परिसरमा धर्नामा बसेका थिए । त्यसपछि अहिले देउवा नेतृत्वको कांग्रेसका नेता तथा कार्यकर्ताहरू, तरुण दलका अध्यक्ष विद्वान गुरुङसहित, आयोग परिसरमा धर्ना दिन पुगेका छन् ।

दुवै पक्षको सक्रियतासँगै सम्भावित तनावलाई ध्यानमा राख्दै आयोग परिसरमा सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ ।