

काठमाडौँ : भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडोले आफ्नो नोबेल शान्ति पुरस्कारको पदक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हस्तान्तरण गरेकी छन्। बिहीबार ह्वाइट हाउसमा भएको भेटका क्रममा मचाडोले प्रतिष्ठित नोबेल पदक ट्रम्पलाई प्रदान गरेकी हुन्।
ह्वाइट हाउसका अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्पले उक्त पदक आफूसँगै राख्ने तयारी गरेका छन्। लामो समयदेखि नोबेल शान्ति पुरस्कारप्रति आकांक्षा व्यक्त गर्दै आएका ट्रम्पले यस घटनालाई ‘पारस्परिक सम्मानको सुन्दर नमुना’ भन्दै सन्तोष प्रकट गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, ‘मेरो कामको सम्मानस्वरूप मारियाले आफ्नो नोबेल शान्ति पुरस्कार मलाई प्रदान गर्नुभएको छ। यो पारस्परिक सम्मानको सुन्दर संकेत हो। धन्यवाद मारिया।’
भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गरी जनताको स्वतन्त्रताका पक्षमा ट्रम्पले देखाएको प्रतिबद्धताको कदरस्वरूप आफूले पदक सुम्पिएको मचाडोले बताएकी छन्। ट्रम्पसँगको भेटवार्ता सकारात्मक र अर्थपूर्ण रहेको उनले उल्लेख गरेकी छन्।
यद्यपि, मचाडोले भौतिक रूपमा सुनको पदक ट्रम्पलाई दिए पनि नोबेल शान्ति पुरस्कारको आधिकारिक विजेता उनी नै रहने छिन्। नर्वेजियन नोबेल इन्स्टिच्युटले यसअघि नै एकपटक घोषणा भइसकेको नोबेल पुरस्कार कानुनी रूपमा खारेज गर्न, बाँड्न वा अरूलाई हस्तान्तरण गर्न नमिल्ने स्पष्ट पारेको छ। त्यसैले पदक ट्रम्पको हातमा पुगे पनि इतिहासमा नोबेल विजेताका रूपमा मचाडोकै नाम रहनेछ।