साफ महिला फुटसल: पहिलो जितको लक्ष्यसहित नेपाल आज माल्दिभ्सविरुद्ध मैदानमा

साफ महिला फुटसल: पहिलो जितको लक्ष्यसहित नेपाल आज माल्दिभ्सविरुद्ध मैदानमा

काठमाडौं । नेपालले दक्षिण एसियाली फुटसल महासंघ (साफ) महिला फुटसल च्याम्पियनसपअन्तर्गत आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित नेपाली टोली मैदान उत्रिन लागेको हो ।

नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा श्रीलंकासँग २–२ को बराबरी खेलेको थियो । बराबरीबाट अंक बटुलेको नेपाल आजको खेलमा जित हात पार्दै तालिकामा मजबुत स्थिति बनाउन चाहन्छ ।

उता, माल्दिभ्स पनि प्रतियोगितामा पहिलो जितको खोजीमा छ । उसले आफ्नो पहिलो खेलमा भारतसँग ११–१ को फराकिलो हार बेहोरेको थियो ।

नेपाल र माल्दिभ्सबीचको खेल थाइल्यान्डको नोन्थबुरी रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा भइरहेको यो प्रतियोगिता साफकै इतिहासमा पहिलोपटक महिला फुटसल विधामा आयोजना गरिएको हो ।

प्रतियोगितामा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, पाकिस्तान र माल्दिभ्स गरी सात राष्ट्रको सहभागिता छ । ‘सिङ्गल राउन्ड रोबिन’ ढाँचामा सञ्चालन हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले उपाधि उचाल्नेछ ।