अमेरिकाले राेक्याे नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा

अमेरिकाले राेक्याे नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा

काठमाडौँ । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई दिने आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले बुधबार जारी गरेको निर्णयअनुसार यी देशका नागरिकका लागि आप्रवासी भिसा अस्थायी रूपमा रोकिएको हो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार, यो निर्णय नोभेम्बरमा जारी गरिएको बृहत्तर आदेशअनुसार लिइएको हो । अमेरिकी सरकारमाथि आर्थिक भार पर्न सक्ने सम्भावित आप्रवासीको भिसा स्थगित गर्ने नीति अन्तर्गत यो कदम चालिएको उनले बताए ।

यसअघि अमेरिकाले ४० देशमाथि अध्यागमन तथा यात्रा प्रतिबन्ध लगाएको थियो । सोही निर्णयको निरन्तरतामा थप ७५ देशलाई समेट्दै आप्रवासी भिसा प्रक्रिया रोकिने भएको हो ।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ट्रम्प प्रशासनले अमेरिकी जनताको स्रोत दोहन गर्ने माध्यम बनेको अध्यागमन प्रणालीको दुरुपयोग अन्त्य गर्न खोजेको हो । यी ७५ देशका नागरिकको आप्रवासी भिसा प्रक्रिया तबसम्म स्थगित रहनेछ, जबसम्म अध्यागमन प्रणालीको पुनः मूल्याङ्कन पूरा हुँदैन ।”

यो नियम आगामी जनवरी २१ देखि लागू हुने जनाइएको छ । साथै, गैर–आप्रवासी भिसा आवेदकहरूले पनि अमेरिकामा सार्वजनिक सुविधा प्रयोग गर्न सक्ने सम्भावनाबारे थप जाँच गर्न निर्देशन दिइएको छ ।

यस निर्णयसँगै नेपालसहित एशिया, अफ्रिका, युरोप, क्यारिबियन र अन्य क्षेत्रका ७५ देशका नागरिक अमेरिकी आप्रवासी भिसा प्रक्रियाबाट प्रभावित हुने भएका छन् ।

७५ देशहरुको सूचीः

१. अफगानिस्तान, २.अल्बानिया, ३.अल्जेरिया, ४.एन्टिगुवा र बारबुडा, ५.अर्मेनिया, ६.अजरबैजान, ७. बहामास, ८. बंगलादेश, ९. बार्बाडोस, १०. बेलारुस ११. बेलिज, १२. भुटान, १३. बोस्निया, १४. ब्राजिल, १५. बर्मा (म्यानमार), १६. कम्बोडिया, १७. क्यामरुन, १८. केप भर्डे, १९. कोलम्बिया, २०. कंगो २१. क्युबा, २२. डोमिनिका, २३. इजिप्ट, २४. एरिट्रिया, २५. इथियोपिया, २६. फिजी, २७. गाम्बिया, २८. जर्जिया, २९. घाना, ३०. ग्रेनाडा ३१. ग्वाटेमाला, ३२. गिनी, ३३. हाइटी, ३४. इरान, ३५. इराक, ३६. आइभोरी कोस्ट, ३७. जमैका, ३८. जोर्डन, ३९. काजाकिस्तान, ४०. कोसोभो ४१. कुवेत, ४२. किर्गिस्तान, ४३. लाओस, ४४. लेबनान, ४५. लाइबेरिया, ४६. लिबिया, ४७. म्यासेडोनिया, ४८. मोल्डोभा, ४९. मंगोलिया, ५०. मोन्टेनेग्रो ५१. मोरक्को, ५२. नेपाल, ५३. निकारागुआ, ५४. नाइजेरिया, ५५. पाकिस्तान, ५६. गणतन्त्र कंगो, ५७. रुस, ५८. रुवाण्डा, ५९. सेन्ट किट्स र नेभिस, ६०. सेन्ट लुसिया ६१. सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्स, ६२. सेनेगल, ६३. सियरा लियोन, ६४. सोमालिया, ६५. दक्षिण सुडान, ६६. सुडान, ६७. सिरिया, ६८. तान्जानिया, ६९. थाइल्याण्ड, ७०. टोगो ७१. ट्युनिसिया, ७२. युगान्डा, ७३. उरुग्वे, ७४. उज्वेकिस्तान र ७५. यमन