

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी वैशाख अन्तिम साता गर्ने केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको छ ।
बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यसम्पादन समितिको निर्णयलाई औपचारिक मान्यता दिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
यसअघि पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गर्दै वैशाखमा सार्ने निर्णय गरेको थियो । त्यसअघि भने मंसिरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस २७ देखि २९ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
तर तोकिएको समयभित्र आवश्यक प्रक्रिया अघि बढ्न नसकेपछि कार्यतालिका संशोधन गर्दै महाधिवेशन वैशाख अन्तिम साता सारिएको हो ।