

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यतालिका संशोधनसहित सार्वजनिक गरिएको छ। बिहान ११ बजे नै मनोनयन दर्ता सम्पन्न भए पनि त्यसपछिको निर्वाचन कार्यक्रम तय हुन सकेको थिएन।
निर्वाचन समितिका संयोजक सीताराम केसीले बुधबार दिउँसो संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन्। संशोधित तालिकाअनुसार दिउँसो ४ बजे उम्मेदवारको प्रथम नामावली सार्वजनिक गरिनेछ। त्यसमा दाबी–विरोधका लागि साढे ४ बजेसम्म उजुरी दिन सकिने व्यवस्था गरिएको छ। उजुरीमाथि ५ बजेसम्म छानबिन गरी साँझ ५:०५ बजे उम्मेदवारको नामावली पुनः प्रकाशन गरिनेछ।
उम्मेदवारी फिर्ता लिने समय साँझ ५:०५ बजेदेखि साढे ५ बजेसम्म तोकिएको छ भने अन्तिम नामावली साँझ ६ बजे सार्वजनिक हुनेछ। त्यसपछि बेलुकी ८ बजेदेखि राति ११ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।

