

काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिँदै गएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच महाराजगञ्जस्थित देउवा निवासमा उच्चस्तरीय वार्ता जारी छ। यस छलफललाई पार्टी एकता जोगाउने अन्तिम प्रयासका रूपमा हेरिएको छ।
विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवाले नेतृत्व छाड्नुपर्ने अडान दोहोर्याइरहेका छन्। तर देउवा त्यसमा सहमत नहुँदा मंगलबार दिनभर र रातभर भएका संवाद निष्कर्षविहीन बनेका थिए।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ प्रवेश गरेपछि देउवाले बुधबार बिहान दुवै महामन्त्रीलाई पुनः वार्ताका लागि बोलाएका हुन्। वार्तामा सहभागी एक नेताका अनुसार सहमतिका लागि देउवाले लचकता देखाउने संकेतसमेत दिएका छन्।
वार्तामा देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण, शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाललगायत शीर्ष नेताहरू सहभागी छन्। सहमतिको आधार तयार गर्न आसन्न प्रतिनिधिसभा निर्वाचनका टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर रहने व्यवस्था गर्न संस्थापन पक्ष सकारात्मक देखिएको छ।
यसअघि नै संस्थापन पक्ष विशेष महाधिवेशनबाट पारित दस्तावेज केन्द्रीय समितिमा अध्ययन, संशोधन र परिमार्जन गरी स्वीकार गर्न सहमत भइसकेको छ। साथै, २०८० फागुनमा सम्पन्न महासमिति बैठकका निर्णय कार्यान्वयन गर्ने, प्रतिनिधिसभा निर्वाचनका लागि संसदीय बोर्ड गठन गर्ने र टिकट वितरण न्यायोचित ढंगले गर्ने विषयमा पनि दुवै पक्ष सहमतिनजिक पुगेका छन्।
पार्टीलाई विभाजनतर्फ जान नदिने र आसन्न चुनाव एकताबद्ध रूपमा सामना गर्ने उद्देश्यसहित भइरहेको यो वार्ताबाट ठोस सहमति निस्कने अपेक्षा गरिएको छ।