

लन्डन । ‘शरीरको कुनै अंगमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन’ भन्ने सन्देशलाई जीवनमा उतार्दै कृत्रिम खुट्टाको सहायतामा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किएका हरि बुढामगरले विश्वसामु साहस र आत्मविश्वासको अद्भुत उदाहरण प्रस्तुत गरेका छन् । माइनस २५ डिग्रीसम्मको कठोर चिसोमा पुस २२ गते माउन्ट भिन्सनको सफल आरोहण गरेपछि उनले फरक क्षमता भएका व्यक्तिलाई हरेक दिन आफ्नै सपनाको सगरमाथा चढ्न प्रेरित गर्ने बताए ।
समुद्री सतहदेखि ४,८९२ मिटर अग्लो माउन्ट भिन्सनको सफल आरोहणसँगै पूर्व गोर्खा सैनिकसमेत रहेका ४६ वर्षीय बुढामगरले विश्वका सातै महादेशका अग्ला चुचुरो आरोहण गर्ने लक्ष्य पूरा गरेका छन् । रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मिएका हरि आज विश्व समुदायका लागि साहसको प्रतीक बनेका छन् ।
आफ्नो अनुभव सुनाउँदै उनले तीव्र हावा, कठ्याङ्ग्रिने चिसो र शारीरिक पीडाबीच आत्मविश्वासकै बलमा सफलता हासिल गरेको बताए । “औँला जमिरहेका थिए, अनुहारमा चिसोको जलन थियो, घरीघरी आफैँमाथि शंका पनि लाग्थ्यो,” उनले भने, “तर यो चुनौतीले मलाई रोक्न सक्दैन भन्ने विश्वासले अघि बढाएँ ।”
बुढामगरले निरन्तर प्रयास, आत्मविश्वास र दृढ संकल्पले असम्भवजस्तो देखिने लक्ष्य पनि सम्भव हुने बताए । दुवै खुट्टाको घुँडामुनिको भाग गुमाएर पनि सातै महादेशका अग्ला शिखर आरोहण गर्नु आफूका लागि मात्र नभई अपांगता भएका विश्वभरका व्यक्तिका लागि प्रेरणाको सन्देश भएको उनले उल्लेख गरे ।
यसअघि उनले २०२३ मा सगरमाथा, २०२० मा माउन्ट किलिमन्जारो, २०२४ मा डेनाली, २०२५ मा एकोनकागुआ, न्यु गिनीको पुन्चाकजयु र फ्रान्सको मोन्ट ब्ल्याक आरोहण गरिसकेका थिए । पछिल्लो पटक अन्टार्टिकाको माउन्ट भिन्सन चढेसँगै उनले दुवै खुट्टा गुमाएर सातै महादेशका अग्ला चुचुरो आरोहण गर्ने नयाँ कीर्तिमान कायम गरेका छन्, जसलाई गिनिज वल्र्ड रेकड्र्सले समेत मान्यता दिएको छ ।
अन्टार्टिकाको शिखरमा नेपाली झण्डा फहराउँदै उनले “चारैतिर आँखाले देखेसम्म हिउँ नै हिउँ थियो, त्यो दृश्य स्वर्गजस्तै लाग्थ्यो,” भन्दै आफ्नो अनुभूति सुनाए । उनका अनुसार यो सफलताले ‘शारीरिक अवस्थाका कारण केही गर्न सकिँदैन’ भन्ने सोचलाई तोड्न मद्दत गर्नेछ ।
सन् २०१० मा अफगानिस्तानमा गोर्खा सैनिकका रूपमा कार्यरत रहँदा भूमिगत बम विस्फोटमा दुवै खुट्टा गुमाएका हरिले जीवनमा निराशाका कठिन दिनसमेत भोगेका थिए । तर स्काइ डाइभिङबाट सुरु भएको आत्मविश्वासले उनलाई विश्वकै अग्ला शिखरतर्फ डोर्याएको हो ।
तीन सन्तानका पिता हरि हाल परिवारसहित बेलायतमा बस्दै आएका छन् । बेलायतको प्रतिष्ठित ‘एमबीई’ अवार्ड तथा ‘प्राइड अफ ब्रिटेन’ सम्मान प्राप्त गरिसकेका उनी माघ १ गते नेपाल आउने र त्यसपछि बेलायत फर्केर प्रधानमन्त्रीलाई भेट्ने योजना रहेको बताएका छन् ।