

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र अब कोही मालिक र कोही दास नहुने स्पष्ट पारेका छन्। विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टी सभापतिदेखि साधारण सदस्यसम्म सबैको हैसियत बराबर हुने बताए।
“यो पार्टीका सदस्यहरूले आफ्नो हकको दाबी गरेका हुन्,” थापाले भने, “आजबाट कांग्रेसमा लामो समयदेखि जाम भएर बसेको पार्टी सञ्चालनको तरिका भत्किएको छ। भोलि जोसुकै आए पनि पार्टीका सदस्यलाई कसैले हेप्न सक्दैन।”
विशेष महाधिवेशनको हलले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने भन्दै थापाले महाधिवेशन कहाँ पुगेर टुंगिन्छ भन्ने अहिले नै भन्न नसक्ने बताए।
“तपाईंहरूले जहाँ लगेर टुंग्याउनुहुन्छ, त्यसमा मलाई कुनै आपत्ति छैन। तपाईंहरूले जे गर्नुभएको छ, त्यो मेरो लागि ठूलो कुरा हो,” उनले भने, “तपाईंहरूको प्रयासले कांग्रेस दास र लासहरूको पार्टी होइन, जिउँदो मानिसहरूको पार्टी भएको प्रमाणित गरेको छ।”
कांग्रेसमा अब ‘नबोल’ भनेर रोक्ने कुनै ‘बा’ नहुने उल्लेख गर्दै उनले पार्टीलाई लोकतान्त्रिक र जीवित संगठनका रूपमा अघि बढाइने दृढता व्यक्त गरे।