थारू समुदायको माघीअघिको ‘ढुम्री नाच’ लोपोन्मुख, संरक्षणको प्रयास

थारू समुदायको माघीअघिको ‘ढुम्री नाच’ लोपोन्मुख, संरक्षणको प्रयास

काठमाडौं । थारू समुदायमा माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम रातभर ढुम्री नाच्ने परम्परा थियो। गाउँका थारू समुदायका अगुवा वा महतवाको घरमा भेला भएर रातभर ढुम्री गीत गाउने, नाच्ने र आगो ताप्ने चलन रहँदै आएको थियो।

थारू अगुवा आशाराम चौधरीका अनुसार यो परम्परा समुदायको मौलिक संस्कारसँग जोडिएको थियो। ‘यो हाम्रो संस्कार हो,’ उनले भने, ‘रातभर नाचगान गरेपछि बिहान ढुम्री गीत गाउँदै नदी वा खोलामा नुहाउन जान्थ्यौं। नुहाइसकेपछि महतवाले सबैलाई टीका लगाइदिनुहुन्थ्यो र फेरि उहाँकै घरमा फर्किन्थ्यौं।’

महतवाको घरबाट सबै आ–आफ्नो घर फर्किने चलन भए पनि पछिल्लो समय यो परम्परा हराउँदै गएको चौधरीले बताए। ‘पुर्खाहरूले जोगाउँदै ल्याएको चलन अहिले नयाँ पुस्ताले चटक्कै छोड्दै गएको छ,’ उनले भने।

तुलसीपुर–१८ का फुलाराम चौधरीका अनुसार ढुम्री नाच हराउँदै गएको करिब २०–२५ वर्ष भइसकेको छ। ‘पहिले रातभर ढुम्री नाच हुन्थ्यो, तर अहिले त्यो दृश्य देख्न पाइँदैन,’ उनले भने।

नयाँ पुस्तालाई ढुम्री नाचबारे जानकारी नहुनु पनि यसको लोपको प्रमुख कारण भएको नमूना भुह्यारथान तुलसीपुरका अध्यक्ष रामशरण चौधरीले बताए। उनका अनुसार ढुम्री नाचले थारू समुदायमा एकताको भावना जागृत गर्ने भएकाले यसको संरक्षण आवश्यक छ।

‘यो केवल नाच मात्र होइन, थारू समुदाय एक भएको सन्देश पनि हो,’ उनले भने, ‘लोप हुने अवस्थामा पुगेकाले संरक्षण गर्न हामी लागिपरेका छौँ।’

ढुम्री नाच लोप हुन नदिन प्रत्येक वर्ष कार्यक्रम आयोजना गरेर संरक्षणको प्रयास गरिएको उनले बताए। यसले नयाँ पुस्तालाई आफ्नो संस्कृतिबारे जानकारी दिन सहयोग पुग्ने उनको भनाइ छ।