

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभा सदस्यको उम्मेदवार छान्न आन्तरिक छलफलमा जुटेको छ। पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल टिकट वितरण प्रक्रिया सम्हालिरहेका छन्।
नेकपाका नेता प्रकाश ज्वालाका अनुसार, पार्टीले राष्ट्रिय सभाका १८ वटै सिटमा उम्मेदवारी दर्ता गर्ने तयारी गरिरहेको छ।
राष्ट्रिय सभा सदस्य १९ जनाको कार्यकाल फागुन २० मा सकिँदैछ, जसमा एक जना राष्ट्रपतिबाट मनोनित सांसद हुन्। सो पदका लागि सरकारको सिफारिसअनुसार राष्ट्रपति फेरि मनोनयन गर्नेछ। बाँकी १८ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ।
नेकपाले आफ्नो तर्फबाट उम्मेदवार टुंग्याएर टिकट वितरण प्रक्रिया अघि बढाइरहेको स्रोतले जनाएका छन्।