

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेलका क्रममा ७ सिटमा दाबी गरेको छ। सचिवालय बैठकपछि कांग्रेस र नेकपासँग भएको छलफलमा प्रत्येक प्रदेशबाट एक–एक जनाको प्रतिनिधित्व हुने गरी ७ सिट माग गरिएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
भट्टका अनुसार अहिलेसम्म सिट बाँडफाँटमा कुनै ठोस टुंगो लागेको छैन। बैठकले कांग्रेससँग थप छलफल गर्ने र उम्मेदवार टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।
उनले राष्ट्रियसभामा सहकार्य गरेर अघि बढ्ने विषयमा सहमति भए पनि प्रतिनिधिसभा निर्वाचनका विषयमा भने हालसम्म कुनै छलफल नभएको स्पष्ट पारे।
राष्ट्रियसभामा रिक्त हुन लागेको १८ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ। ती सिटमा कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसँग गठबन्धन गरेर चुनावमा जाने विषयमा एमाले सहमत भइसकेको छ।