कांग्रेस प्रतिनिधिसभामा एक्लै चुनाव लड्ने

कांग्रेस प्रतिनिधिसभामा एक्लै चुनाव लड्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा निर्वाचनका विषयमा कांग्रेसले अन्य राजनीतिक दलहरूसँग छलफल गरिरहेको बताएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा सिटौलाले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धनबारे टुंगो लगाउने स्पष्ट पारे।

उनका अनुसार कुन–कुन दलसँग तालमेल गर्ने, क्लष्टरको बाँडफाँड कसरी गर्ने भन्ने विषयमा आजकै बैठकमा निर्णय हुनेछ। “एक्लै लड्दा परिणाम नआउने भएकाले राष्ट्रियसभामा गठबन्धनको कुरा आएको हो,” सिटौलाले भने, “राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलसँग साझा सहकार्य उपयुक्त हुन्छ भन्ने हाम्रो धारणा हो।”

तर प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा भने कांग्रेसको बटमलाइन स्पष्ट रहेको उनले बताए। प्रतिनिधिसभा निर्वाचन प्रत्यक्ष रूपमा जनतासँग जाने प्रक्रिया भएकाले पार्टीले आफ्नै विचार र कार्यक्रम लिएर एक्लै चुनाव लड्नुपर्ने उनको भनाइ थियो।

कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि एमाले, नेकपासँगै मधेशी मोर्चासँग पनि सम्भावित तालमेलबारे छलफल गरिरहेको सिटौलाले जानकारी दिए।