

काठमाडौं । अमेरिकाले भेनेजुएलामा आक्रमणपछि नियन्त्रणमा लिएका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिका ल्याएको छ। बीबीसीका अनुसार मादुरो र उनकी पत्नी न्यूयोर्क राज्यको स्ट्युअर्ट एयर नेसनल गार्ड बेसमा अवतरण गरेका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरोको आँखामा पट्टी बाँधिएको जहाजभित्रको तस्बिर सार्वजनिक गरेका थिए। अमेरिकी सञ्चारमाध्यमका रिपोर्टअनुसार न्यूयोर्क पुगेपछि मादुरोलाई हेलिकोप्टरमार्फत म्यानह्याटनको वेस्टसाइड हेलिपोर्ट पुर्याइनेछ। त्यहाँबाट उनलाई अमेरिकी ड्रग एनफोर्समेन्ट एडमिनिस्ट्रेसन (डीईए) को मुख्यालय हुँदै ब्रुकलिन लगिने बताइएको छ।
त्यसपछि मादुरोलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर (एमडीसी) मा राखिनेछ। उनी अर्को साता म्यानह्याटनको संघीय अदालतमा ड्रग र हतियारसम्बन्धी अभियोगमा उपस्थित हुनुअघि त्यहीँ हिरासतमा रहनेछन्। एमडीसी उच्च–प्रोफाइल मुद्दाका अभियुक्त राखिने कुख्यात जेलका रूपमा चिनिन्छ, जहाँ यसअघि र्यापर आर. केली, जेफ्री एप्स्टाइनकी सहयोगी घिस्लेन म्याक्सवेल तथा हालै सिन डिडी कोम्ब्ससमेत राखिएका थिए।
मादुरोमाथि न्यूयोर्कमा ड्रग तथा हतियारसम्बन्धी अभियोग लगाइएको छ। उनले यसअघि आफू ड्रग कार्टेलका नेता भएको आरोप अस्वीकार गर्दै आएका थिए।
यस घटनापछि भेनेजुएलाले राष्ट्रिय आपत्काल घोषणा गर्दै अमेरिकाको कदमलाई अत्यन्त गम्भीर सैन्य आक्रमणको संज्ञा दिँदै कडा भर्त्सना गरेको छ।