‘छक्का पञ्जा ३’ को बुकिङ खुल्ला, मल्टिप्लेक्समा सर्वाधिक शो संख्या

‘छक्का पञ्जा ३’ को बुकिङ खुल्ला, मल्टिप्लेक्समा सर्वाधिक शो संख्या

काठमाडाैँ । घटस्थापनाको दिनबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छक्का पञ्जा ३’ लाई मल्टिप्लेक्समा सर्वाधिक शोहरु मिलाइएकाे छ । सोमबार साँझबाट राजधानी भित्र र बाहिरका अधिकांश मल्टिप्लेक्समा चलचित्रको बुकिङ खुल्ला गरिएको छ । चलचित्रले राजधानीको क्युएफएक्स च्यानलमा मात्र ३० वटा शो पाएको छ । गएको वर्ष चलचित्र ‘छक्का पञ्जा २’ लाई क्युएफएक्सले २६ शोज बाँडेको थियो । बुकिङ खुल्ला भएसँगै मल्टिप्लेक्समा चलचित्रको टिकट दर्शकले ‘रिजर्भ’ गर्न थालिसकेका छन् ।

आक्रामक रुपमा भइरहेको बुकिङले चलचित्रको रिलिज अगावै मल्टिप्लेक्सका केही शोज सोल्डआउट हुने सम्भावना प्रवल छ । क्युएफएक्स अन्तर्गतको लबिम र सिभिल हलमा चलचित्रको अग्रिम टिकट रिजर्भ गर्ने दर्शक अत्याधिक देखिएका छन् । बिहान ८ बजे र साँझ ६ बजेपछिको शोजको टिकट बढी बिक्री भइरहेको छ । उक्त चलचित्रलाई क्यूज सिनेमाले प्रदर्शनको पहिलो दिन ११ शोज, विएसआर मुभिजले १२ शोज, सिडिसी सिनेमाले १० शोज, विग मुभिजले १० शोज र एफक्यूबले ११ शोज बाँडेको छ । चलचित्रको एडभान्स बुकिङ र इनिसियल बक्सअफिस आक्रामक भएको खण्डमा मल्टिप्लेक्सले शोजमा वृद्धि गर्नेछ ।

२ घण्टा २० मिनेट लामो दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ३’ ले पहिलो दिन नै करोड ग्रस कलेक्सन गर्ने अनुमान लगाईएको छ । चलचित्रलाई सेन्सर बोर्डले सबै उमेर समुहका दर्शकले हेर्न मिल्ने सर्टिफिकेट प्रदान गरेको छ । चलचित्रले मल्टिप्लेक्समा उच्च शोज पाउनुको पछाडि स्टार कलाकार, गीतसंगीत र ट्रेलरले निर्माण गरेको हाइप र गतिलो प्रचारलाई मानिएको छ ।

‘कमेडी विथ कन्टेन्ट’ भनिएको चलचित्रमा उनीसँगै दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, प्रियंका कार्की, बर्षा राउत, संजोग कोइरालालगायतका कलाकारहरुको अभिनय छ । जातीय विभेद, विद्यालयमा हुने राजनीति, गरिबी, अशिक्षा र बेरोजगारी जस्तो संवेदनशिल विषय चलचित्रले भन्छ । ठूलाेपर्दाबाट