नेप्से ६ अंकले बढ्याे तर कारोबार रकम भने घट्याे

नेप्से ६ अंकले बढ्याे तर कारोबार रकम भने घट्याे

काठमाडाैँ, २२ असाेज । धितोपत्र बजारमा आज सेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.१६ बिन्दुले बढेर एक हजार २२०.५२ बिन्दुमा पुगेको छ ।

लगातार घट्दै आएको बजारमा सुधार भए पनि कारोबार रकममा भने गिरावट आएको छ । कुल १६३ कम्पनीको १४ लाख ५१ हजार ५७२ कित्ता शेयर रु. ३७ करोड १६ लाख ५६ हजार ९२३ मूल्यमा खरिद–बिक्री भएको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने १.२९ बिन्दुले बढेर २५८.८२ बिन्दुमा पुगेको छ । कुल दश उपसमूहमध्ये आज दुई उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयरमा वृद्धि भएको छ । अन्य समूह ३.९५ र जीवन बिमा ४.७१ बिन्दुले घटेको छ । बैंकिङ ७.६१, होटेल ४८.४३, विकास बैंक ११.८७, जलविद्युत एक, फाइनान्स १.९२, निर्जीवन बिमा ३०.५, उत्पादन १३.५६, माइक्रो फाइनान्स ९.०२ बिन्दुले बढेको छ ।

स्टकका अनुसार नाडेप, सेन्ट्रल फाइनान्स लिमिटेड, श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् भने मन्जुश्री फाइनान्स लिमिटेड र न्यादी ग्रुप पावर कम्पनीका शेयरधनीले भने आज गुमाएका छन् । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०७४–७५ मा गरेको मुनाफाबाट पाँच प्रतिशत नगद लाभांश दिने भएको छ ।