

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच अन्ततः सहमति भएको छ। यस सहमतिसँगै कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने भएका छन्।
यसअघि नै रवि लामिछाने पार्टी सभापति र बालेन्द्र शाह प्रधानमन्त्रीको उम्मेदवार हुने विषयमा रवि र बालेनबीच सहमति भइसकेको थियो। सो सहमतिपछि कुलमान घिसिङलाई पनि एउटै राजनीतिक मोर्चामा ल्याउन निरन्तर वार्ता र संवाद हुँदै आएको थियो, जसले सोमबार निष्कर्ष पाएको हो।
तीन नेताबीच सहमति गराउन जेनजी अगुवा तथा ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङलगायतका युवाहरूले निरन्तर दबाब दिँदै आएका थिए। सहमति सार्वजनिक भएपछि गुरुङले आगामी निर्वाचनमा तीनै जना सँगै जाने गरी सहमति भएको जानकारी दिएका छन्। ‘मैले कुलमान, बालेन र रविलाई मिलाएरै छाडेँ,’ गुरुङले दाबी गरे।
तीनै जनालाई एकै ठाउँमा उभ्याउन सफल हुँदा खुशी लागेको बताउँदै गुरुङले सहमतिका सबै विषय तत्काल सार्वजनिक गर्न नमिल्ने पनि बताए। कुलमान पनि अब रास्वपाबाटै चुनाव लड्ने भइसक्नुभएको छ,’ उनले भने।
सोमबार सम्पन्न त्रिपक्षीय वार्तामा सहमति जुटेसँगै पार्टीको समानुपातिक उम्मेदवार सूचीमा कुलमान घिसिङको टिमबाट १८ जना समेटिने जनाइएको छ। यसअघि पटक–पटक छलफल भए पनि सहमति हुन नसकेको अवस्थामा यसपटक निर्णायक सहमति भएको बताइएको छ।