

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच आइतबार साँझ एकीकरण भएपछि मधेश प्रदेशमा जसपा नेपाल सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ।
एकीकरणअघि २४ सदस्यसहित पहिलो दल रहेको नेकपा एमालेले प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुख गुमाइसकेको अवस्थामा जसपा नेपालले भने सभामुखबाट सत्तामा पुनः प्रवेश गरेको छ। हाल जसपा नेपालका एक सदस्य निलम्बनमा रहेका छन् भने हालै रामअशिष यादव जसपा नेपालबाट मधेश प्रदेश सभामुख निर्वाचित भएका छन्। दुई वर्षभन्दा बढी समयपछि जसपा नेपाल पुनः मधेशको सत्तामा फर्किएको हो।
यसअघि सात वर्षसम्म मधेशको सत्ता सम्हालेको जसपा नेपाल जनमत पार्टीलाई कांग्रेस र एमालेले साथ दिएपछि सत्ताबाहिरिएको थियो। पछिल्लो समय नेपाली कांग्रेस नेतृत्वको सातदलीय गठबन्धन सरकार गठनमा जसपा नेपालको समर्थन रहेको थियो, जसको परिणामस्वरूप उसले सभामुख पद पाएको छ।
लोसपा नेपालसँगको एकीकरणपछि जसपा नेपालका १९ र लोसपा नेपालका ९ गरी कुल २८ सदस्य पुगेका छन्। तर जसपा नेपालका सरोज सिंह कुशवाहा र लोसपा नेपालका अविराम शर्मा निलम्बनमा रहेकाले प्रदेश सभामा सक्रिय सदस्य संख्या २६ रहेको छ।
एकीकरणपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरलाई सम्मानित नेता बनाउँदै पार्टीभित्रका अन्य नेताहरूलाई समेटेर अघि बढ्ने तयारी गरेका छन्।