

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको निर्वाचन कार्यतालिका संशोधन गर्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पारेको छ।
निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समानुपातिक निर्वाचन तालिका हेरफेरबारे आयोगको धारणा सार्वजनिक गरेका हुन्।
सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले भने, ‘यो कार्यक्रम संशोधन वा परिवर्तन गर्ने पक्षमा आयोग छैन।’ उनले अब निर्वाचन हुन्छ कि हुँदैन भन्ने विषयमा बहस गर्नु आवश्यक नरहेको पनि स्पष्ट पारे। ‘हाम्रो डिक्सनरीमा अब “निर्वाचन हुँदैन” भन्ने शब्द छैन,’ भण्डारीले भने।
उनका अनुसार हालसम्म कुनै पनि दलले निर्वाचनमा भाग नलिने घोषणा नगरेकाले निर्वाचनको विपक्षमा कोही पनि छैन। ‘कहीँ कतैबाट कसैले पनि निर्वाचनमा सहभागी नहुने भनेको सुनिएको छैन,’ उनले थपे।
यसपटक अघिल्ला निर्वाचनको तुलनामा निर्वाचन आचारसंहिताको कडाइ गरिने पनि उनले बताए। कतिपय राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समय थप गर्न माग गरिरहेका छन्। यसअघि सर्वपक्षीय छलफलका क्रममा नेपाली कांग्रेसले समेत यस्तो माग राखेको थियो।
तर आयोगले सार्वजनिक गरेको तालिकाअनुसार यही पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची बुझाउने समय तोकिएको छ।