

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान तराईका अधिकांश स्थानमा कुहिरो लागेको छ।
कुहिरोका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आज बिहान ८ बजे चेतावनी तथा परामर्श जारी गर्दै तराई भूभागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार दिउँसो पनि देशका तराई भूभागमा हुस्सु रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका तराई भूभागमा मध्याह्नसम्म तथा बाँकी तराई भूभागमा दिनभर कुहिरो लाग्ने सम्भावना छ। पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
यस्तै राति पनि तराई भूभागमा हुस्सु रहनेछ भने पहाडी तथा हिमाली भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविद्हरूले बताएका छन्।