धानखोला–लमही सडक चार लेनको माग गर्दै लुम्बिनी प्रदेश राजधानी क्षेत्रमा सरकारी गाडी रोक

धानखोला–लमही सडक चार लेनको माग गर्दै लुम्बिनी प्रदेश राजधानी क्षेत्रमा सरकारी गाडी रोक

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा स्थानीयले सरकारी गाडी सञ्चालनमा रोक लगाएका छन्। एमसीसी परियोजना अन्तर्गत एमसीए नेपालले दुई लेनमा स्तरोन्नति गर्न लागेको धानखोला–लमही सडकखण्ड चार लेनमा विस्तार गर्नुपर्ने माग राख्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन्।

धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष समितिका संयोजक प्रकाश शाहीका अनुसार माग सम्बोधन नभएसम्म पुस ७ गतेदेखि यो महिनाभर प्रदेश राजधानी क्षेत्रमा सरकारी गाडी चल्न नदिने निर्णय गरिएको छ।

शाहीको नेतृत्वमा युवाहरू लुम्बिनी प्रदेश राजधानी गेट तथा राप्ती गाउँपालिका–३ स्थित प्रदेश प्रशासनिक केन्द्रको मुख्य प्रवेशद्वारमा भेला भएर प्रदर्शन गरिरहेका छन्।

स्थानीयका अनुसार दाङको देउखुरी क्षेत्रमा पर्ने धानखोला–लमही सडकखण्डमा एमसीसी परियोजनाअन्तर्गत एमसीए नेपालले साविकको ७ मिटर चौडा सडकलाई दायाँ–बायाँ २.५/२.५ मिटर थप गरी जम्मा १२ मिटर चौडाइमा सीमित राख्दै दुई लेनकै सडक बनाउन खोजेको छ। राजधानी क्षेत्रको दीर्घकालीन आवश्यकता र बढ्दो सवारी चापलाई ध्यान नदिइएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्।

यसअघि राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट स्थानीय संघर्ष समितिका प्रतिनिधिसहित काठमाडौं पुगेर भौतिक पूर्वाधार, यातायात तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएका थिए। तर एमसीसी परियोजनाअनुसार नै काम हुने र मागअनुसार परिमार्जन सम्भव नहुने जवाफ आएको स्थानीयले बताएका छन्।