कतारमा नेपालीले गर्ने १० मुख्य काम

कतारमा नेपालीले गर्ने १० मुख्य काम

कतार । नेपालीका लागि रोजगारीको प्रमुख गन्तव्य बनेको खाडीमुलुक कतारमा लाखौँ नेपालीहरु विभिन्न पेशामा कार्यरत छन् । संख्याका आधारमा मलेसियापछि सबैभन्दा बढी नेपालीहरु कार्यरत रहेको मुलुक हो कतार । नेपालीको संख्या कतारको पूरा जनसंख्या भन्दा पनि बढी छ । कतारमा कार्यरत नेपालीहरुको संख्या ४ लाखभन्दा बढी छ, जुन यहाँका मुलबासी कतारीहरू भन्दा झण्डै दोब्बर हो ।

तपाई दोहाको विमानस्थलमा ओर्लनुभयो भने यहाँभित्र कार्यरत कर्मचारीहरुमध्ये अधिकांश नेपालीलाई भेट्न सक्नुहुन्छ । कतारको विमानस्थलभित्र नेपाली भाषामात्रै बोल्न सक्नेहरुले पनि कुनै दुःख पाउँदैनन् । यसैबाट पनि थाहा हुन्छ, कतारमा नेपालीहरु कति धेरै छन् ।

कतारबाट नेपालमा अर्बौं रुपैयाँ रेमिट्यान्स भित्रिने गरेको छ, जसले विगतको दशकदेखि नेपालको अर्थतन्त्रको उल्लेख्य हिस्सा ओगटेको छ । विशेष गरी नेपालमा बढ्दो बेरोजगारीका कारण बिदेशिनेको संख्या दिनानुदिन बढ्दो छ ।

कतारमा भारतीयपछि धेरै कामदारहरु नेपाली नै छन् । ०५२ सालदेखि औपचारिकरुपमा नेपालीहरु रोजगारीका लागि कतार आउन थालेका हुन् ।

मध्यपूर्वको सानो देश कतारलाई यतिबेला खाडीका छिमेकी राष्ट्रले औपचारिक रुपमा नाकाबन्दी लगाएका छन् । साउदी अरब, युएई, ईजिप्ट, बहराइन, लिविया, मालदिभ्स र यमनले कतारसँग कुटनैतिक सम्बन्ध टुटेको घोषणा गरिसकेका छन् । कतारले आतंकवादीहरुलाई सहयोग गरेको भन्दै ती राष्ट्रले कतारलाई नाकाबन्दी लगाएका हुन । यस्तो नाकाबन्दीमा आप्रवासी कामदारलाई समेत प्रतिकूल प्रभाव पारेको छ । तैपनि नेपालीहरु कतारमा सुरक्षितरुपमा काम गरिरहेका छन् ।

नेपालमै बसेर केही गरीखाने ठाउँ छैन । सरकारले लाखौं युवा शक्तिलाई रोजगारीको व्यवस्था मिलाउन सकिरहेको छैन । फलस्वरूप लाखौँ युवा विदेश पलायन भइरहेका छन् । विदेशमा पनि उनीहरुले आफ्नो रुची, योग्यता र क्षमताअनुसारको काम पाइरहेका छैनन् । बाध्यताका कारण खाडी लगायतका मुलुकमा सस्तो मूल्यमा श्रम बेच्न बाध्य नेपालीहरु जस्तो काम पाउँछन्, त्यही गर्न बाध्य छन् ।

रोजगारीका लागि कुन देशमा जाने र के काम गर्ने भन्ने विषयमा बार्गेनिङ हुने गरेको छ । नेपालीहरूलाई कतार, मलेसिया, साउदीलगायत मुलुकमा प्रायः अदक्ष कामदारका रुपमा लिने गरिएको छ । उनीहरुले घर, सडक, पुल आदि बनाउनेदेखि सेक्युरिटीगार्ड, होटेल मजदुर आदिका रुपमा भिसा पाउने गरेका छन् ।

कतारमा सन् २०२२ मा विश्वकप सञ्चालनका लागि आवश्यक पर्ने रंगशाला र अन्य भौतिक स्थल, रेलमार्ग समेत धमाधम बनिरहेको छ । यसले गर्दा पनि कतारमा नेपाली कामदारहरुको माग छ ।

कतारमा नेपालीले गर्ने १० प्रमुख काम

१. धेरै नेपालीहरु हाउस किपिङ र क्लिनिङको काम गर्छन् । यस अन्तरगत घरको सरसफाइ, बाटोको सफाइ, औद्योगिक क्षेत्रभित्रको काम अनि एयरपोर्टमा समेत नेपालीहरुले मजदुरी गर्छन् । झ्याल ढोका आदि सफा गर्ने र घरायसी काम गर्नेमा पुरुष र महिला दुबै वर्गका कामदारहरु रहेका छन् । यस्ता कामहरु इन डोर र आउट डोर गरी दुबै प्रकारका छन् ।

२. कन्स्ट्रक्सनको काममा पनि नेपालीहरु प्रशस्त भेटिन्छन् । बाटोघाटो, पुल पुलेसो, इत्यादि बनाउने कन्स्ट्रक्सनको कामलाई निकै गाह्रो काम कान्ने गरिन्छ । यो काम निकै गाह्रो हुने साथै तलबसमेत कम हुने गर्दछ । साथै यस्तो काममा दुर्घटनामा परेर ज्यान जाने जोखिम पनि बढी हुन्छ ।

३. नेपालीहरुले यहाँ गर्ने अर्को काम भनेको पेन्टिङ, नयाँ घरको रंगरोगन, पुराना घरको रिपेयरिङ आदि हो । औद्यौगिक क्षेत्रमा समेत पेन्टिङको काम चल्ने हुनाले यस्तो काममा नेपालीहरु उल्लेखनीय रुपमा लागेका भेटिन्छन् ।

४. स्काफोल्डिङ नेपाली कामदारहरुले गर्ने अर्को काम हो । नयाँ संरचना बनाउँदा स्काफोल्डिङको सहयाता लिनुपर्ने हुन्छ । गिटी, बालुवा, ईट्टा, इलेक्टि्रकल जडान गर्दा स्काफोल्डिङको प्रयोग गरिन्छ ।

५. नेपालीहरुले कतारमा गर्दै आएको अर्को काम भनेको वेटर हो । अफिसका कर्मचारीलाई चिया बनाउनु, होटलमा आएका ग्राहकलाई सर्भिस गर्नु जस्ता क्रियाकलापलाई ‘इन्डोर जब’ का रुपमा लिइन्छ । यस्तो कामका लागि अंग्रेजी वा हिन्दी जानेको हुनुपर्छ ।

६. नेपालीहरुले कतारमा इलेक्टि्रसियनको काम पनि उल्लेख्यरुपमा गर्ने गरेका छन् । देशमै सीप सिकेर कतार आएका नेपालीहरु यस्तो काममा लागेका छन् । नयाँ घर बनाउँदा इलेक्टि्रसियनको आवश्यकता पर्छ । घर बनाएसँगसँगै तारहरु समेत बिछ्याउनुपर्ने हुन्छ । यो काम केही जोखिमपूर्ण त छ, तर यसमा आम्दानी राम्रो हुन्छ ।

७. कतारमा नेपालीहरुले गर्दै आएको अर्को काम हो- ड्राइभिङ । नेपाली ड्राइभरहरु कतारमा उल्लेखनीय छन् । नेपालमा गाडीको स्टेरिङ दाहिनेपट्टी हुन्छ भने कतारमा देब्रेपट्टी हुन्छ । तर, ठूला ठूला बाटाहरु भएकाले गुडाउन सजिलो हुन्छ । त्यसैले नेपालमै गाडी चलाउन सिकेर कतार आउनेहरुले यो पेशामा सहजता महसुस गरिरहेका छन् । प्रत्येक चोक वा ज्रेब्राक्रसिङमा सीसी क्यामेरा जडान गरिएका हुन्छन् । केही गल्ती गरे तुरुन्त फाइन लाग्छ ।

८. ट्रर्ली ब्वाइका रुपमा कार्यरत नेपालीहरु पनि कतारमा प्रशस्त भेटिन्छन् । सुपरमार्केट वा एयरपोर्टतिर आएका मानिसहरुको झोला वा ब्यागलाई ट्रलीमा हालेर उनीहरूको सवारी साधनसम्म पुर्‍याउने पुरुष कामदारहरुलाई ट्रली ब्वाइ भनिन्छ । यो काममा ग्राहकहरुले खुशी भएर टिप्स वा अन्य उपहारसमेत दिने गर्छन् ।

९. कतारमा नेपालीहरुले पाउने गरेको अर्को महत्वपूर्ण काम हो- सेक्युरिटी गार्ड । घर, सुपरमार्केट, होटल, एयरपोर्ट, कम्पनी आदिमा चेकजाँच गर्ने कार्यमा उनीहरु खटिएका हुन्छन् । उनीहरुको काम कति बजे कुन गाडी भित्र आयो, कुन बाहिर गयो र कुन मानिस आयो, गयो आदि ईत्यादिको अभिलेख राख्नु हो । यस्तो कामलाई कन्ट्रक्सनको कामभन्दा सजिलो मानिन्छ ।

१०. त्यसैगरी कतारमा नेपालीहरुले सुपरभाइजर, मेनेजर आदिका रुपमा समेत काम गर्दै आएका छन् । कतारमा ७३० रियल तलब खाने लेबरदेखि ५५ हजार रियलसम्म तलब खानेसम्मका नेपाली मेनेजरहरु भेटिन्छन् । उनीहरूको काम स्टाफहरुको गुनासो सुन्ने र समस्यालाई चाँडो भन्दा चाँडो समाधान गर्ने हो । यसका साथै नयाँ कन्ट्राक्ट लिने काम पनि उनीहरुले गर्छन् ।

यी कामहरुका अतिरिक्त कतारमा आफ्नै स्वतन्त्र व्यापार व्यवसाय गर्ने नेपालीहरुको संख्या पनि उल्लेख्य देखिन थालेको छ ।

दैनिक रोजगारी वा व्यवसाय गरेर बचेको समयमा विभिन्न सामाजिक एवं सामुदायिक संघसंस्थामा काम गर्ने नेपालीहरुको संख्या पनि उल्लेख्य छ । साथै नेपालमा जस्तै यहाँ प्रवासी भातृ संगठनमार्फत पार्टीको राजनीतिमा सक्रियतापूर्वक लाग्नेहरु पनि पाइन्छन् ।

एक प्रकारले भन्ने हो भने कतारलाई एउटा ‘मिनी नेपाल’ भन्दा पनि फरक पर्दैन । -अनलाइन खबरबाट