‘जेन–जी भाइबहिनीहरूको रगतको थोपा खेर जान दिन्नँ’-रवि लामिछाने

‘जेन–जी भाइबहिनीहरूको रगतको थोपा खेर जान दिन्नँ’-रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रिहा भएको भोलिपल्टै चितवन पुगेर समर्थकलाई सम्बोधन गरेका छन्। भरतपुरको चौबीसकोठीमा आयोजित विशेष कार्यक्रममा उनले नेपालको झन्डा फहराउँदै चितवनवासीप्रति आभार व्यक्त गरे।

सभालाई सम्बोधन गर्दै लामिछानेले चौबीसकोठी आफ्नो लागि ऐतिहासिक स्थल भएको उल्लेख गरे।
“चितवनको चौबीसकोठीले हाम्रो लागि इतिहास बोकेको छ। चितवनले मलाई होइन, देशलाई न्याय गर्नेछ,” उनले भने, “मलाई अन्याय पर्दा तपाईंहरूले साथ दिनुभयो।”

भैरहवा कारागारबाट रिहा भएसँगै भएको पहिलो सार्वजनिक सभामा उनले आफूविरुद्ध अन्याय भएको दोहोर्‍याउँदै भावुक अभिव्यक्ति दिए।
“मलाई विष भएका सर्पहरूले डसेका छन्,” उनले भने, “ती सर्प मरे कि मरेनन् थाहा छैन, तर उनीहरूले दिएको विष बोकेर म आज पनि बाँचिरहेको छु। मेरो शरीरमा त्यो विष अझै बाँकी छ र म यही विष लिएर पनि लड्छु।”

लामिछानेले जेन–जी आन्दोलनमा सहभागी युवाहरूको रगतको थोपा खेर जान नदिने प्रतिबद्धता समेत जनाए।
“जेन–जी भाइबहिनीहरूको रगतको थोपा खेर जान दिन्नँ,” उनले भने।

पुराना पुस्ताका नेताहरूप्रति संकेत गर्दै उनले आफूलाई दिइएको दुःखभन्दा देशलाई दिइएको पीडा ठूलो भएको टिप्पणी गरे।
“मलाई अन्याय गरियो, थुनियो भनेर चित्त दुखाउनु पर्ने छैन,” उनले भने, “उनीहरूले सिंगो देश र पुस्तालाई दुःख दिएका छन्। देशको अगाडि मलाई दिएको दुःख केही होइन।”

उनले बदला लिनुभन्दा देशका वास्तविक समस्यासँग लड्नुपर्नेमा जोड दिए।
“हामीले लड्नुपर्ने उनीहरूसँग होइन,” उनले भने, “हामीले लड्ने भनेको जनतालाई उपहारका रूपमा दिइएको भोक, शोक, जमिनको समस्या, अशिक्षा र बेरोजगारीविरुद्ध हो।”

सभामा लामिछानेले जेन–जी पुस्ताको आन्दोलनको खुलेर प्रशंसा गरे।
“जेन–जी दाजुभाइ दिदीबहिनीहरूलाई सलाम छ,” उनले भने, “हामीले त चुनाव कुर्ने सोचेका थियौं, तपाईंहरूले चुनाव कुर्नुभएन, बजाइदिनुभयो।”

रिहाइपछि चितवनबाटै दिएको उनको यो सम्बोधनलाई रास्वपाको आगामी राजनीतिक यात्रासँग जोडेर हेरिएको छ।