महाधिवेशनपछि एमाले फुट्दैन झन् बलियो बन्छ – योगेश भट्टराई

महाधिवेशनपछि एमाले फुट्दैन झन् बलियो बन्छ – योगेश भट्टराई

काठमाडौँ : नेकपा (एमाले) का निवर्तमान सचिव तथा उपमहासचिव पदका उम्मेदवार योगेश भट्टराईले जारी महाधिवेशनपछि एमाले अझ बलियो र एकताबद्ध भएर अघि बढ्ने दाबी गरेका छन् । निर्वाचनबाट चयन हुने नयाँ नेतृत्वले पार्टीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनले महाधिवेशनपछि एमाले फुट्छ भन्ने आशंका र अड्कलबाजीलाई स्पष्ट रूपमा खारेज भएकाे बताएका छन् ।

मतगणनास्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले महाधिवेशनको समग्र वातावरण, कार्यकर्ताको सक्रिय सहभागिता र नेतृत्व तहको सहकार्यले पार्टीभित्र गहिरो एकता रहेको सन्देश दिएको बताए । “यो महाधिवेशनबाट कसैले एमाले फुट्छ भन्ने आशा पालेको छ भने उसको हातमा केही पर्दैन,” उनले भने, “महाधिवेशन हलभित्र हामी जसरी मिलेका देख्नुभएको छ, चुनावको परिणाम आएपछि त्यसभन्दा अझ बढी मिलेको एमाले देख्नुहुनेछ।”

उनका अनुसार एमाले कुनै व्यक्ति वा गुटले होइन, समर्पित कार्यकर्ता र संगठनात्मक शक्तिले जोगाएर ल्याएको पार्टी हो । त्यसैले महाधिवेशनपछि पार्टी कमजोर हुन्छ वा फुट्छ भन्ने प्रश्नको कुनै आधार नभएको उनको भनाइ थियो । “एमाले भनेको कार्यकर्ताले जोगाएको पार्टी हो,” भट्टराईले जोड दिए, “महाधिवेशनपछि फुट्छ भन्ने प्रश्न नै खारेज गर्छौं।”

भट्टराईले महाधिवेशनलाई आन्तरिक लोकतन्त्रको अभ्यासको रूपमा उल्लेख गर्दै विचार, प्रतिस्पर्धा र निर्वाचनलाई स्वाभाविक प्रक्रिया भएको बताए । चुनावी प्रतिस्पर्धा सकिएपछि सबै नेता–कार्यकर्ता एउटै उद्देश्यका साथ पार्टी र जनताको सेवामा जुट्ने उनको विश्वास छ ।

महाधिवेशनपछि एमाले अझ संगठित, अनुशासित र जनमुखी रूपमा अगाडि बढ्दै राजनीतिक, आर्थिक र सामाजिक सबैखाले चुनौतीको सामना गर्न सक्षम हुने दाबी पनि उनले गरे । “अब एमाले थप बलियो भएर जनतामाझ जानेछ,” उनले भने, “जनताका समस्या समाधान गर्ने अभियानसहित पार्टीलाई राष्ट्रिय राजनीतिमा अझ प्रभावकारी बनाउने हाम्रो लक्ष्य हो।”

उनले महाधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वले पार्टीभित्रको एकता मजबुत बनाउँदै लोकतान्त्रिक अभ्यासलाई थप संस्थागत गर्ने विश्वास व्यक्त गरे ।