ओली र लेखकलाई अर्को साता बयानका लागि बोलाउने जाँचबुझ आयोगको तयारी

ओली र लेखकलाई अर्को साता बयानका लागि बोलाउने जाँचबुझ आयोगको तयारी

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहसँग सम्बन्धित घटनाको जाँचबुझका लागि गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अर्को साता बयानका लागि बोलाउने तयारी गरेको छ।

आयोगको म्याद थपका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्न सिंहदरबार पुगेको आयोगको टोलीले अर्को साता राजनीतिक दलका शीर्ष नेताहरूलाई बयानका लागि बोलाइने तयारी भइरहेको जानकारी दिएको हो।

छलफलपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई बयानका लागि बोलाउने तयारी गरिएको बताए।
‘बयान लिने काम भइरहेको छ। त्यो बेलाका प्रधानमन्त्री र गृहमन्त्री सबैलाई बयानका लागि बोलाउँछौं। अर्को हप्ता सबैलाई बोलाउँछौं,’ उनले भने।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले पनि ओली र लेखक छिट्टै बयान दिन उपस्थित हुने विश्वास व्यक्त गरे। ‘उहाँहरू बयान दिन छिट्टै आउनुहुन्छ, ढुक्क पर्नुहोस्,’ शर्माले भने।

यसैबीच, आयोगको म्याद सकिनै लाग्दा पनि बयान संकलनको काम पूरा नभएकाले आयोगले सरकारसँग एक महिना म्याद थप गर्न आग्रह गरिसकेको छ।