मधेस प्रदेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री यादवले बुधबार प्रदेश सभा सचिवालयमा पत्र पठाउँदै विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन्। उनले पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम २०८२ पुस ४ गते शुक्रबार दिउँसो ४ बजे प्रदेश सभाबाट विश्वासको मत लिने व्यवस्था मिलाइदिन अनुरोध गरिएको उल्लेख छ।

विश्वासको मत नलिएका कारण हालसम्म मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। हाल मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट जङ्गीलाल यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री, नेकपा (एकीकृत समाजवादी) बाट गणेश पटेल उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री, नेकपा (माओवादी केन्द्र) बाट जवाहर कुशवाह ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री र लोकतान्त्रिक समाजवादी पार्टीबाट रानीकुमारी तिवारी मन्त्री रहेका छन्। तिवारीलाई भने मन्त्रालयको जिम्मेवारी तोक्न बाँकी छ।

संविधानअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेको मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।