मन्त्रालय भागबन्डाले जनमत असन्तुष्ट, बाहिरिने चेतावनी

मन्त्रालय भागबन्डाले जनमत असन्तुष्ट, बाहिरिने चेतावनी

जनकपुरधाम। उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय नेकपा एकीकृत समाजवादीको पक्षमा परेको विषयमा जनमत पार्टी असन्तुष्ट भएको छ। केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त कुशवाहाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै मधेश प्रदेश सरकारबाट पार्टी बाहिरिनेसम्मको चेतावनी दिएका छन्।

सोमबारको मन्त्री परिषद विस्तारमा २१ गते नै विनाविभागीय मन्त्री बनेका एकीकृत समाजवादीका कनिष पटेललाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसपछि जनमत असन्तुष्ट बनेको हो। कुशवाहाले लेखेका छन् कि “यस आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत १० हजार रोजगारी सृजना गर्ने कार्यक्रम बजेटमा विनियोजन गरिएको छ। तर भागबन्डाको नाममा अरुलाई त्यो मन्त्रालय दिनु भनेको सम्पूर्ण रोजगारी कार्यक्रमलाई अलपत्र पार्नु हो।”

उनले थपे, “जनमत पार्टीको उद्देश्य बमोजिम सरकारमा सुनिश्चिता नभए मधेश प्रदेश सरकारबाट हामी अलग हुन तयार हुनुपर्छ।”

हाल सातदलीय गठबन्धनमा जसपा र जनता पार्टीबाहेक सबै दलले एक–एक मन्त्रालय लिएर सरकारमा सहभागी भइसकेका छन्। जनमतले महत्त्वपूर्ण अर्थ मन्त्रालय लिइसकेको छ भने संसदीय दलका नेता महेश प्रसाद यादव अर्थमन्त्री रहेका छन्।