

काठमाडौँ । आजदेखि देशभर पाँचौँ राष्ट्रिय बाघ गणना सुरु भएको छ । गणनाअन्तर्गत चितवन, पर्सा, बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा लालझाडी करिडोर क्षेत्रमा बाघको संख्या, बासस्थान र आहारबारे वैज्ञानिक अध्ययन तथा अनुगमन गरिनेछ ।
वैज्ञानिक विधिअनुसार तीन वटा ब्लकमा विभाजन गरी बाघ गणना गर्न लागिएको हो । यसका लागि २ हजार ३ सय स्वचालित क्यामरा जडान गरिँदैछ, जसबाट करिब ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्र समेटिनेछ । यसअघि सन् २०२२ मा गरिएको गणनामा १ हजार ८ सय ४३ क्यामरा प्रयोग गरिएको थियो ।
बाघ गणना चैत महिनासम्म सञ्चालन हुनेछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ (WWF) र जेडएसएल (ZSL) लगायतका संस्थाको सहयोगमा गणना हुन लागेको हो । यस अभियानमा मुलुकभरबाट करिब २ सय ५० जना दक्ष जनशक्ति परिचालन गरिनेछ ।
नेपालमा सन् २००९ देखि स्वचालित क्यामरा प्रयोग गरेर बाघको संख्या यकिन गर्ने अभ्यास सुरु गरिएको हो । पाँचौँ गणनाको नतिजा सन् २०२६ जुलाई २९ मा पर्ने विश्व बाघ दिवसका अवसरमा सार्वजनिक गरिनेछ । सन् २०२२ मा सम्पन्न चौथो गणनामा नेपालमा ३ सय ५५ पाटेबाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो ।
विश्वमै पछिल्लो एक सय वर्षमा बाघको बासस्थान ९३ प्रतिशत र संख्या ९७ प्रतिशतले घटेका बेला नेपालमा भने पछिल्लो १२ वर्षमा पाटेबाघको संख्या झन्डै तेब्बर बढ्नु संरक्षणका दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ ।