मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए शपथ

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए शपथ

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मुख्यमन्त्री यादवको सिफारिसमा नियुक्त भएका दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ ग्रहण गर्नेमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारी र नेकपा माओवादी केन्द्रका जवाहरलाल कुश्वाहा छन्। तिवारीले शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी पाएकी छन् भने कुश्वाहाले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय सम्हालेका छन्।

यसैगरी यसअघि बिना विभागीय मन्त्री रहेका कांग्रेसका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेकपा एकीकृत समाजवादीका कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

मन्त्रिपरिषद् विस्तारसँगै मधेस प्रदेश सरकारमा मन्त्रालयको जिम्मेवारी बाँडफाँड टुंगिएको छ।