एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ११–१३ मा काठमाडौंमा हुने

एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ११–१३ मा काठमाडौंमा हुने

काठमाडौं । हालै दुई समूहबीच एकीकरण भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति र स्थान औपचारिक रूपमा तय गरेको छ । एकताको महाधिवेशनका रूपमा रहने यो कार्यक्रम आगामी फागुन ११, १२ र १३ गते काठमाडौंमा आयोजना गरिनेछ ।

एकतापछि गठित स्टेरिङ कमिटीको आइतबार बसेको दोस्रो बैठकले सन् २०२६ फेब्रुअरी २३, २४ र २५ तारिखमा महाधिवेशन गर्ने निर्णय गरेको पूर्वअध्यक्ष तथा कमिटी सदस्य आरके शर्माले जानकारी दिए । कमिटीले एकीकरणपछि संगठनलाई मजबुत बनाउने उद्देश्यसहित महाधिवेशनको तयारीलाई तीव्रता दिएको जनाएको छ ।

संघका महासचिवद्वय गौरीराज जोशी र बी.आर. लामाले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रिय समन्वय समिति (एनसीसी) हरूबीचको एकतालाई निष्कर्षमा पुर्‍याउन पाँच सदस्यीय ‘एनसीसी युनिटी फ्यासिलिटेसन कमिटी’ गठन गरिएको छ । उक्त समितिको संयोजकमा गंगाधर गौतम रहेका छन् भने सह–संयोजकमा टीका गुरुङ (राधिका) रहेकी छिन् । सदस्यहरूमा नारायण काफ्ले, शनि ओली र चिरञ्जीवी खड्का छन् ।

एनआरएनएले बृहत् एकताको सन्देश विश्वभर रहेका नेपाली समुदायसम्म पुर्‍याउने उद्देश्यले क्षेत्रीय स्तरमा अन्तरक्रिया तथा संवाद कार्यक्रमहरू सञ्चालन गर्ने तालिका पनि सार्वजनिक गरेको छ । संघले यसलाई एकीकृत एनआरएनएको नयाँ यात्राको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।