एनपीएलमा रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी, कार र मोटरसाइकल पुरस्कार

एनपीएलमा रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी, कार र मोटरसाइकल पुरस्कार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका छन्। फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीलाई उपाधि जिताउन निर्णायक भूमिका खेलेपछि उनी यो सम्मानका हकदार बनेका हुन्।

सर्वोत्कृष्ट नेपाली खेलाडी बनेसँगै रोहितले कार पुरस्कार प्राप्त गरेका छन्। फाइनल खेलमा उनले बलिङतर्फ प्रभावशाली प्रदर्शन गर्दै तीन विकेट लिए। यससँगै जारी एनपीएलमा उनको विकेट संख्या ९ पुगेको छ।

ब्याटिङतर्फ पनि रोहितले उल्लेखनीय योगदान दिए। फाइनल खेलमा १६ रन जोड्दै उनी प्रतियोगिताका सर्वाधिक रन बनाउने नेपाली खेलाडी बने। रोहितले एनपीएलका १० खेलमा कुल २७६ रन बनाएका छन्, जसका कारण उनी सर्वाधिक रन बनाउने नेपाली ब्याटरको सूचीमा शीर्ष स्थानमा रहे।

सर्वाधिक रन बनाउने नेपाली ब्याटर बनेबापत रोहितले मोटरसाइकल पुरस्कारसमेत हात पारेका छन्। कप्तानका रूपमा टोलीलाई उपाधि जिताउनुका साथै व्यक्तिगत रूपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै रोहित पौडेलले एनपीएल सिजनमा ऐतिहासिक सफलता हासिल गरेका छन्।