

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको फाइनल खेल आज हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
शनिबार अपराह्न साढे तीन बजेदेखि सुरू हुने फाइनल खेलबाट यस संस्करणको च्याम्पियन टुंगो लाग्नेछ। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। यता, लुम्बिनीले इलिमिनेटरमा काठमान्डु गोर्खाज् र दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।
लिग चरणमा सातमध्ये ६ खेल जित्दै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफ पुगेको थियो। लिग चरणमा उसले विराटनगरसँग मात्रै हार बेहोरेको थियो। लुम्बिनी भने सातमध्ये ४ खेल जितेर ८ अंकसहित चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको हो। लिग चरणमा लुम्बिनीले जनकपुर, विराटनगर, पोखरा र चितवनलाई पराजित गरेको थियो भने सुदूरपश्चिमसँग ७ विकेटले पराजित भएको थियो।
लिग चरणको हारको बदला लिँदै पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित लुम्बिनी मैदान उत्रनेछ। सुदूरपश्चिम भने अघिल्लो संस्करणमा उपविजेतामै सीमित भएपछि यसपटक इतिहास रच्दै उपाधि जित्ने अवसरमा छ।
लुम्बिनी लायन्सको कप्तानी नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले गरिरहेका छन् भने सुदूरपश्चिम रोयल्सको नेतृत्व राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले सम्हालेका छन्।
लुम्बिनी टिममा रोहित पौडेल (कप्तान), दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान रहेका छन्।
सुदूरपश्चिम टिममा दीपेन्द्र सिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा (विकेटकिपर) समावेश छन्।