

टेक्सास, अमेरिका । नेपाली समुदायको घना उपस्थिति रहेको टेक्सास राज्य नेपाली समाज टेक्सास (एनएसटी को आगामी डिसेम्बर १३ मा हुने निर्वाचनले तातेको छ । दुई प्यानलबीचको प्रतिस्पर्धा रोमाञ्चक मोडमै पुगेको छ-एकातिर वर्तमान महासचिव विजय भुसालको समूह, अर्कोतिर बरिष्ठ उपाध्यक्ष जनक भण्डारीको नेतृत्वकाे समूह ।
यही चुनावी दौडधुपका बीच विजय भुसाल समूहबाट उपाध्यक्षका उम्मेदवार दिलीप राई आफ्नो अनुभव, दृष्टि र सेवाभावका आधारमा अघि बढिरहेका छन् । हाम्रा अमेरिकी संवाददातासँग उनले निर्वाचनमा प्रतिस्पर्धा गर्नुको प्रेरणा र भावी योजनासम्बन्धी आफ्नो धारणा प्रष्ट राखेका छन् ।
उपाध्यक्ष प्रत्यासी राई भन्छन्,- “समाज भनेको विविध जातजाति, भाषा, संस्कार र संस्कृतिको संगम हो । यस्तो समाजलाई सही दिशामा लैजाने नेतृत्व त्यही हो—जो स्वार्थभन्दा समाजलाई प्राथमिकता दिन्छ, पारदर्शी हुन्छ, समस्या नजिकबाट बुझ्छ र समाधान खोज्छ ।”
करिब दुई दशकअघि सुदूरपूर्व नेपालबाट अमेरिका पुगेका राई किराँत राई सोसाइटी अफ अमेरिका स्थापना गरिँदा नेतृत्वमै थिए । दुई कार्यकालसम्म संस्थाको सफल नेतृत्व सम्हालेका उनले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका दुःख-सुखमा सो संस्थाले खेलेकाे भूमिका नै आफ्नो अनुभवको आधार भएको बताए ।
अर्को समूहले उनलाई “सीधै उपाध्यक्षमा हाम्फालेका” भन्दै अनुभवहीन आरोप लगाएको प्रसंगमा राई स्पष्ट छन् । उनी भन्छन्- “समाजसेवा पैसा वा पदले होइन, मनको गहिराइले हुन्छ । म संस्था आफ्नो व्यावसायिक पिआरको लागि होइन, संकटमा परेका नेपालीको मुस्कानका लागि आउँछु । किराँत राई सोसाइटीले गरेको काम नै मेरो अनुभवको प्रमाण हो ।”
उनले भने-‘अब विजय भुसालजस्तै इमान्दार र पारदर्शी नेतृत्वसँग मिलेर समुदायको हितमा काम गर्न चाहन्छु । इमान्दारिता र स्वार्थरहित सेवाभाव नै मेरो असल पहिचान हो ।”
चुनावपछिको कार्ययोजनाबारे राई भन्छन्- “एनएसटी एक पूर्ण भोलिन्टरी संस्था हो । यसको मूल उद्देश्य अमेरिकी समाजमा नेपाली समुदायको पहिचान मजबुत बनाउनु हो । यहाँ कोही नेपाली अलपत्र नपरून् भन्ने हाम्रो पहिलो प्राथमिकता हुनेछ ।”
उनका अनुसार:
-संकटमा परेका नेपालीलाई तत्काल सहयोग
-नेपाली भाषा, संस्कार र चाडपर्व आगामी पुस्तामा हस्तान्तरण
-विद्यार्थीलाई परामर्श तथा आर्थिक सहयोगको सहज पहुँच
-युवाको व्यक्तित्व विकासका तालिम
-रोजगारी तथा आर्थिक अवसरबारे मार्गदर्शन
-अमेरिकी सिस्टमसँग समन्वय गरी नेपाली समुदायलाई औपचारिक रूपमा स्थापित गराउने
यी सबै बुँदाहरूलाई कार्ययोजनामा समावेश गरिएको उनले बताए ।
राई अन्त्यमा भन्छन्- “म विजयी भए पनि, नभए पनि, नेपाली समुदायलाई आवश्यक परेको ठाउँमा सधैं उपस्थित हुनेछु । जनजातिको प्रतिनिधित्व गर्दै यो जिम्मेवारी पाउने आशा राखेको छु, र पाएको खण्डमा पूर्ण समर्पणका साथ सेवा गर्नेछु ।”
नेपाली समाज टेक्सासको चुनाव नजिकिँदै जाँदा दुवै प्यानलबीचको प्रतिस्पर्धा थप चर्किँदै छ । तर दिलीप राई जस्ता उम्मेदवारले प्रस्तुत गरेको सेवाभाव र स्पष्ट दृष्टिले भने समुदायभित्र सकारात्मक चर्चा बटुलेको देखिन्छ ।
