

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।
कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरूको समर्थनमा मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री कार्यालयका अनुसार शपथ ग्रहणका लागि सम्पूर्ण तयारी पूरा भएको छ।
यादवले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने तयारी गरेका छन्।
यसअघि संविधानको धारा १६८(३) बमोजिम ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव मंसिर १७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। तर सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि, विश्वासको मत ल्याउन नसक्ने स्थिति बनेपछि यादवले राजीनामा दिएका थिए।
उनको राजीनामापछि कांग्रेस नेता यादवले कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका ७७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।