

काठमाडौं : लिग चरणको अन्तिम खेलमा चितवन राइनोजलाई आठ विकेटले पराजित गर्दै पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सकारात्मक अन्त्य गरेको छ। शनिबार भएको खेलमा उत्कृष्ट प्रदर्शनसहित तेस्रो जित दर्ता गरेको पोखरा पाँचौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।
पोखराले तीन खेलमा जित र चार खेलमा हार ब्यहोर्दै ६ अंक जोड्यो। एनपीएलको दुई संस्करणमा प्लेअफ नपुग्ने एक मात्र टोली पोखरा बनेको छ। चितवन भने शनिबारको हारसँगै छैटौँ स्थानमा सीमित रह्यो।
लक्ष्य सजिलै भेट्टायो पोखराले
चितवनले दिएको १२० रनको लक्ष्य पोखराले १९.४ ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्यो। अर्जुन कुमाल ४३ रन र जेसन रोय ६ रनमा अविजित रहे। ५३ बलमा २ चौका र १ छक्का प्रहार गरेका अर्जुनले उत्कृष्ट पारी खेले।
ओपनर रोसिङटनले ४८ बलमा ४ चौका र ५ छक्कासहित ६५ रन बनाए। उनी रिजन ढकालको बलमा कुशल मल्लबाट क्याच आउट हुन पुगे। कप्तान कुशल भुर्तेल ४ रनमा रवि बोपाराले क्याच लिँदा आउट भए।
कमजोर सुरुवातले चितवन दबाबमा
पहिले ब्याटिङ गरेको चितवनले ६ विकेटको क्षतिमा १२० रन मात्र बनायो। तेस्रो ओभरको पहिलो बलमै ७ रनमा ३ विकेट गुमाएको चितवन दबाबबाट बाहिरिन सकेन।
चितवनका लागि देव खनालले ३५, कप्तान कुशल मल्लले २३ तथा अल्पेश रम्जानीले अविजित ३३ रन बनाए।
पोखराका धनञ्जय लक्षणले ३ विकेट लिए भने विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एक–एक विकेट हात पारे।
अब लिग चरणको अन्तिम खेल आइतबार कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ। प्लेअफबाट बाहिरिसकेका दुवै टोलीका लागि खेल प्रतिष्ठाको हुनेछ।