स्वरसम्राट् नारायणगोपालको ३५औँ स्मृति दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

स्वरसम्राट् नारायणगोपालको ३५औँ स्मृति दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौं । प्रेम, सामाजिक मूल्य, जीवनका अनुभूति र सांस्कृतिक चेतनालाई स्वरमार्फत गहिरो ढंगले अभिव्यक्त गर्ने कलाकारका रूपमा पहिचान बनाएका स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको ३५औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदैछ।

अद्वितीय जादुमय आवाज र साङ्गीतिक कौशलका कारण ‘स्वरसम्राट्’को उपाधिमा सम्मानित नारायणगोपालका ‘लौ सुन म भन्छु, मेरो रामकहानी’, ‘पर्खी बसेँ आउला भनी’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘ए कान्छा, ठट्टैमा स्वर्गकी रानी’, ‘बिछोडको पीडा’, ‘जाग, लम्क, चम्क’, ‘गल्ती हजार हुन्छन्’, ‘अल्झेछ क्यारे पछ्यौरी’, ‘ईश्वर तैँले रचेर फेरि’ जस्ता अनगिन्ती गीत आज पनि कालजयी मानिन्छन्।

उनको निधनपछि महाराजगन्जस्थित निवासमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज स्मृति दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गर्दै महान् कलाकारलाई सम्मानपूर्वक सम्झिरहेको छ।