‘राजनीतिक सङ्घीयता मात्र आयो’

‘राजनीतिक सङ्घीयता मात्र आयो’

बुटवल, १७ असोज । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सबै तहमा राजनीतिक नेतृत्व सहितको राजनितिक सङ्घीयता मात्र आएको बताउनुभएको छ ।

उहाँले राजनीतिक सङ्घीयता आए पनि यस बाहेकको प्रशासनिक र वित्तीय सङ्घीयता नभई सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण पाटो पूरा नहुने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले सबै तहमा राजनीतिक नेतृत्व आए पनि प्रशासनिक संरचना कार्यान्वयमा अझै आइनसकेको बताउनुभयो ।

पानस फाउण्डेशनको अनुसन्धानात्मक पुस्तक ‘पानस’ विमोचन कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रशासनिक सङ्घीयताका लागि अहिले भएको कर्मचारी व्यवस्थापन मात्र भएको र कर्मचारी समायोजन नहुँदासम्म प्रशासनिक सङ्घीयता आएको भन्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “वित्तीय सङ्घीयतामा मुलुक प्रवेश गरेकै छैन । अब छिट्टै यी कुरा पनि कार्यान्वयनमा आउनुपर्छ ।”

मुख्यमन्त्री पोखरेलले अहिले तीन तहबीच अधिकारको विषयमा विवाद र अलमल नै नभएको भन्दै बौद्धिक भनिएकाबाटै गलत विश्लेषण गरिएको बताउनुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहलाई संविधानले नै अधिकारको सूची दिएको र ती विषयलाई कार्यान्वयन गरे मात्रै पनि सङ्घीयता बलियो हुने स्पष्ट पार्नुभयो । मुख्यमन्त्री पोखरेलले प्रदेशमा पनि अनुसन्धानमूलक पत्रकारिता आवश्यक रहेको भन्दै त्यसको शुरुआत भएकाले बौद्धिक जमात अब देश निर्माणमा जुट्नुपर्ने बताउनुभयो । रासस