अपराजित सुदूरपश्चिमको छैटौँ जीत, चितवन ४९ रनले पराजित

अपराजित सुदूरपश्चिमको छैटौँ जीत, चितवन ४९ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा निरन्तरता दिएको छ। बिहीबार भएको खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले हराउँदै लगातार छैटौँ जित दर्ता गर्यो।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १६९ रनको प्रतिस्पर्धी योगफल बनायो। ओपनर क्रिस लिनले दमदार प्रदर्शन गर्दै ५६ बलमा ५ चौका र ३ छक्कासहित ७५ रन बनाए। उनी रिटायर्ड हर्ट भएका थिए। विनोद भण्डारीले २१, पुनित मेहराले १३, इशान पाण्डे र हर्मित सिंहले १–१ रन जोडे। कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेख दुवैले २४–२४ रनमा अविजित रहे।

जवाफी ब्याटिङमा उत्रिएको चितवन राइनोज १७ ओभर एक बलमै १२० रनमा समेटियो। टीमका रवि बोपाराले २९ रन बनाए भने देव खनालले २८, अर्जुन साउँदले १६ र कुशल मल्लले १५ रन जोडे। अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

सुदूरपश्चिमका पुनित मेहराले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। कप्तान दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेले एक–एक विकेट हात पारे।

यो हारसँगै चितवनले एनपीएल–२ मा चौथो पराजय ब्यहोरेको छ र प्लेअफमा पुग्ने उसको सम्भावना थप जटिल बनेको छ।