

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राजीनामा घोषणा गरेका छन्। प्रदेशसभा बैठक दिउँसो २ बजे डाकिएको थियो, जसमा विश्वासको मत लिनुपर्ने व्यवस्था थियो।
यादवले सभामा भने, “आजकै मितिबाट राजीनामा दिन्छु र प्रदेश प्रमुखको कार्यालयमा गएर राजीनामा बुझाउँछु।” उनले आफूलाई सर्वोच्च अदालतले संविधानको धारा १६८ को ३ अनुसार वैध सरकारको रूपमा विश्वासको मत लिन भने पनि, विपक्षी दलका सांसदहरू उपस्थित नभएको कारण अब संसदमा आँखा जुधाएर कुरा गर्न नसकिने बताए।
मुख्यमन्त्री यादवले विश्वासको मतको लागि प्रस्ताव पेश गर्ने क्रममा सात दलीय गठबन्धनका विपक्षी सांसदहरू सभाबाट बाहिरिएका थिए। सदनमा केवल सत्ता पक्ष एमाले, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका सांसदहरू उपस्थित थिए।
नेकपा एमालेका संसदीय दलका नेता यादव गत कात्तिक २३ गते राति संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले कात्तिक २४ गते बर्दिबासस्थित पानस होटलमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए।
यस अघि नेपाली कांग्रेससहित सातदलीय गठबन्धनका ७३ प्रदेश सांसदहरूले सर्वोच्च अदालतमा रिट दायर गरेर सरकार गठनको वैधता चुनौती दिएका थिए। अदालतले गत सोमबार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएको थियो।