२ बजेको लागि सर्‍यो मधेश प्रदेशसभा बैठक

२ बजेको लागि सर्‍यो मधेश प्रदेशसभा बैठक

जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक बुधबार तोकिएको समयभन्दा दुई घन्टा ढिला सुरु भएपछि पुनः सारिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत दिउँसो २ बजे मात्र लिने अडान राखेपछि बैठक स्थगित गरिएको हो।

प्रदेश सभा सचिवालयले आज बिहान साढे ८ बजे नै विश्वासको मतका लागि बैठक बोलाएको थियो। तर बैठक सुरु हुँदा समेत मुख्यमन्त्री यादवसहित एमाले प्रदेश सांसदहरू उपस्थिति नदेखिएपछि उपसभामुख बबिता कुमारी राउत ईशरले बैठक दिउँसो २ बजेसम्म सार्ने घोषणा गरिन्।

करिब साढे १० बजेसम्म पनि मुख्यमन्त्री यादव प्रदेशसभामा नआएपछि विपक्षी दलका सांसदहरू बिहानैदेखि प्रतीक्षारत रहे। एमालेका केही सांसदहरू भने सभामा पुगिसकेका थिए।

मुख्यमन्त्री यादवले बिहानै प्रदेशसभा सचिवालयलाई पत्र लेख्दै विश्वासको मत २ बजे लिने वातावरण बनाउन अनुरोध गरेका थिए। तर हिजो साँझ बसेको सर्वदलीय बैठक र कार्यव्यवस्था परामर्श समितिले बिहान ८:३० बजे नै बैठक बस्ने सहमति गरिसकेको थियो।

यादवले उपसभामुख ईशरले दलहरूको दबाबमा आफूले सुझाएको समय विचार नगरी बिहानै बैठक राखेको आरोपसमेत लगाए। उनले भने, ‘विगतमा पनि मुख्यमन्त्रीका पत्रअनुसार समय तोकिँदै आएको थियो। तर उपसभामुखले यसपटक दलहरूको उक्साहटमा बिहानै बैठक राख्नुभयो।’

अन्ततः मुख्यमन्त्री यादवकै आग्रहअनुसार प्रदेशसभा बैठक दिउँसो २ बजेसम्म स्थगित गरिएको उपसभामुख ईशरले पुनः बैठक बसेर फैसला लिइएको जानकारी दिइन्।