कांग्रेसले ४५ वर्षभन्दा मुनिका ४० प्रतिशत युवालाई प्रतिष्पर्धामा उतार्नुपर्छः कांग्रेस नेता चन्द

कांग्रेसले ४५ वर्षभन्दा मुनिका ४० प्रतिशत युवालाई प्रतिष्पर्धामा उतार्नुपर्छः कांग्रेस नेता चन्द

नेपाली कांग्रेस बैतडी क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति तेजबहादुर चन्द सिंगो पार्टीलाई नयाँ संरचना अनुसार अगाडी बढाउन युवा पंक्तिमा बढी जिम्मेवारी आएको बताउनुहुन्छ । भारतको मुम्बइबाट उच्च शिक्षा हासिल गरेर कांग्रेस र सिंगो देशलाई योगदान पुर्याउने अठोट बोकेर स्वदेशमा सक्रिय चन्द बैतडीमा परिचित युवा नेता हुनुहुन्छ । नेता चन्द स्थानीय बासिन्दाको साझा जन प्रतिनिधिकोरुपमा जनताकै काममा रातदिन खटिनुहुन्छ ।

युवाहरु माझ त उहाँ धेरैको मन मस्तिष्कमा बस्न सफल युवा समाजसेवी, सफल, व्यक्तित्व र धेरैको आशा र भरोसाका केन्द्र हुनुहुन्छ । पछिल्लो समय उहाँ बैतडीमा कांग्रेस पार्टी संगठन विस्तारसंगै जनजनमा राजनीतिक चेतना विस्तारको अभियानमा हुनुहुन्छ । अबका दिनमा कांग्रेसले ४५ वर्षभन्दा मुनिका ४० प्रतिशतभन्दा बढी युवालाई प्रतिष्पर्धा गराउनुपर्छ भन्ने मान्यताका साथ उहाँ कांग्रेसको युवापंक्तीलाई तताइरहनुभएको छ भने केन्द्रिय नेतृत्वलाई झकझकाइ पनि रहनुभएको छ । प्रस्तुत छ नेपाली कांग्रेस बैतडी क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति तेजबहादुर चन्दसंग गरिएको कुराकानीः

नेपाली कांग्रेस नयाँ संरचनाअनुसार विधान बनाउनका लागि तयारीमा जुटेको छ, कस्तो बन्दै छ विधान ?
विधान भनेको पार्टीलाई चुस्त र दुरुस्त कसरी चलाउन सकिन्छ र पार्टीलाई कसरी बढीभन्दा बढी अझ लोकतान्त्रिक कसरी बनाउन सकिन्छ भन्ने कुरा मुख्य हो । पार्टीका हरेक संरचनाहरुलाई बलियो बनाएर ‘मोर डेमोक्रेटिक’ पार्टी तथा मजबुत, सबल र सक्षम पार्टी बनाउनका लागि नयाँ विधान चाहिएको हो । अहिले विधानको मस्यौदा बन्ने क्रममा छ । नेपाली कांग्रेस गम्भीर भएर देशको काम गर्दैै आएको छ । मलाई लाग्छ, विधान समय सुहाउँदो र काम गर्न सजिलो हुने गरी विधान बन्छ । अझ लोकतान्त्रिक संस्कारलाई स्थापित गर्न सबैलाई सहज हुने विधान हुनुपर्छ भन्ने मेरो मान्यता हो।

विधानमा पदाधिकारी बढाउने चर्चा पनि चलिरहेको थियो, प्रतिनिधि आउने सवालमा पनि परिवर्तन गर्ने भन्ने बहस चलिरहेको छ नि ?
कमसेकम आफ्नो पृष्ठभूमि के हो, ‘ग्रास रुट लेभल’मा उसको संभावना के छ र वितृष्णा के छ भन्ने कुरा मुख्य बुझ्नु जरुरी हो । पार्टीमा कार्यकर्ताप्रतिको उसको दृष्टिकोण के छ भन्ने कुरा पनि परीक्षण हुनुपर्छ । त्यही धरातलमा थाहा हुन्छ । केन्द्रीय सदस्य स्वतः प्रतिनिधि आउने कुराले नेताको धरातल खत्तम पार्छ । उसको ‘ग्रास रुट लेभल’को ‘चार्मिङ’ छ कि छैन भन्ने कुरा नेताले परीक्षा दिन पाउनुपर्छ । वडाबाटै चुनिएर केन्द्रमा आउने व्यवस्था हुन जरुरी छ ।

नेपाली कांग्रेस प्रतिपक्षमा छ, सरकारले गरेका कामहरुप्रति पनि दवाव दिदैँ आएको छ, सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको हो ?
सरकारको सबभन्दा कमजोर पक्ष भनेको जे प्रतिबद्वता व्यक्त गर्छ, त्यो नगर्नु हो । भोट माग्दै गर्दा सम्बृद्वि, सुशासन र शान्तिको कुरा गरिए पनि अहिले त्यसरी काम गर्न सकेको छैन नेकपाको सरकारले । उनीहरुले विकासको नयाँ बाटो खोल्ने प्रतिबद्वता गरेर सत्तामा पुगेका थिए तर अहिले ती कुरा बिर्सिएका छन् । उनीहरुले सम्बृद्विको खाकासमेत बताउन सकेका छैनन् । गर्ने त परैको कुरा भयो । भाषण गरेर मात्र देश बन्दैन । पानीजहाज, रेल चलाउने कुरा भाषणमा मात्र सीमित भएका छन् । पाँच लाख युवालाई हरेक वर्ष रोजगारी दिने, पाँच वर्षमा २५ लाख युवालाई रोजगारी दिने घोषणापत्रमा लेखेर मात्र हुदैँन । त्यसका लागि योजना, नीति तथा कार्यक्रम बनाउनुपर्छ । यी कुराहरु यसरी गर्छाै भनेर तथ्यको आधारमा कुरा गर्नुपथ्र्यो तर त्यसमा सरकार चुकेको छ । त्यही भएर नेपाली कांग्रेस प्रतिपक्ष पार्टीको हैसियतले, एउटा जिम्मेवार लोकतन्त्र, गणतन्त्रप्रतिको जिम्मेवार पार्टी भएकाले यी योजनाहरुलाई नेपाली कांग्रेसले क्लियर गर्दै जाने छ । केपी शर्मा ओली नेतृत्वको सरकार असफलतातिर अघि बढेको छ । सरकारले जनतालाई ठगेको छ । यस प्रति कांग्रेसले घोर भत्सर्ना गर्दछ ।

तपाईंको जिल्ला बैतडीमा उपनिर्वाचन हुने र नेकपाका नेता वामदेव गौतम उठ्ने भन्ने चर्चा चलिरहेको अवस्था छ, के छ त्यहाँ कांग्रेसको तयारी, त्यहाँ कांग्रेसको अवस्था के हो ?
खास गरेर यो जानकारी मैले मिडियामार्फत नै पाएको हो । नेकपाका नेता वामदेव गौतम बैतडीबाट लड्ने र त्यसकालागि बैतडीबाट निर्वाचित सांसदलाई राजीनामा गर्न लगाउने अनि त्यहाँबाट आफु सांसद हुने अभ्यासमा छन् भन्ने सुनिएको हो । अहिलेसम्म निश्चित नभए पनि वामदेव गौतमको यो कुरा मनका लड्डु घिउसँग खानुजस्तै हो । बैतडीबाट निर्वाचित भएर देशको नेतृत्व गर्ने कुरामा उहाँ लाग्नुभएको छ भने त्यो दिवा सपना हुने छ । बैतडीमा नेपाली कांग्रेस सशक्त पार्टी हो । यद्यपि, यस देशका दुईवटा ठूला पार्टी एक ठाउँमा आएर अहिले नेकपा बन्यो । वामदेवजी त्यहाँबाट लडेर जित्छु भन्ने प्रयास बैतडीका जनताले मनका लड्डु घिउसँग खाने कुरा सावित गर्ने छन् यो ठोकुवाका साथ भन्न सक्छु । यो उहाँको कल्पनालाई गौतमले सफलता प्राप्त गर्न सक्नुहुन्न भन्ने मलाई दृढ विश्वास छ ।

दुईवटा पार्टी एक भएर अहिले बहुमतको सरकार छ, यो अवस्थामा कसरी वामदेवजीलाई जित्न सम्भव छैन भन्दै हुनुहुन्छ, तपाईं ?
सबभन्दा पहिला नेपाली कांग्रेसले तीनवटा कुरा लिएर अघि बढेको छ । विगतमा हामीले के गरेका थियौं, वर्तमानमा के गर्दैछौ र भविष्यमा के गर्ने भन्ने कुरा लिएर कांग्रेस जनतामाझ गएको छ । दुईवटा पार्टी मिलेर देशलाई संमृद्विमा लैजाने कुरा गरेपनि त्यसो गर्न सकेका छैनन् । वृद्वभत्ताको आश्वासन जनतालाई दिए तर त्यसअनुरुप उनीहरु अघि बढ्न सकेनन् । नेकपाका यी नाराहरु फेल भइसकेको अवस्थामा नेपाली जनताले नेकपालाई पत्याउने अवस्था नै छैन । ती आधारहरु ६/७ महिना सरकार चलाउँदै गर्दा नेकपाले विश्वास गुमाइसक्यो । बैतडी जिल्ला कांग्रेसको पकड भएको जिल्ला हो भन्ने पनि ख्याल राख्न जरुरी छ ।

६/७ महिनाको अवधिमा यहाँले भनेअनुसार कांग्रेसले संगठन विस्तारलगायतका कुरामा छलाङ मार्यो त उसो भए ? नेकपालाई जित्नका लागि त्यति ठूलो आधार बनेको छ ?
आधार त कांग्रेसको पहिलेदेखि बलियो नै छ । संगठन विस्तारमा पनि कांग्रेसको ध्यान पुगेको छ । पछिल्लो समय जनताको विश्वास यो नेकपाको सरकार र नेकपा स्वयमले गुमाइसकेको छ । वामदेव गौतम बैतडीबाट लड्दै गर्दा उनी असफल हुनेमा दुईमा छैन ।

साच्चै वामदेव गौतम त्यहाँबाट उठ्ने भए भने तपाईको संभावना कत्तिको छ ?
एकदम संभावना छ । नेपाली कांग्रेस युवाहरुलाई प्रबद्र्वन गर्ने रणनीति लियो भने म दावाका साथ भन्छु म वामदेव गौतमलाई भारी बहुमतले सान्दार मत ल्याएर जित्न सक्छु । बैतडीको युवा मेरो पक्ष एकजुट छन् । त्यहाँका युवाले बुझेका छन् । बैतडीमा कसरी विकास गर्न सकिन्छ भन्ने कुरा प्रत्येक युवालाई थाहा छ । बैतडीको जनताको. जीवनस्तर सुधार गर्न कसरी सकिन्छ भन्ने म सँग योजना छ । आधारभुत आवश्यकता के हो भन्ने कुरा हामीले राम्रोसँग बुझेका छौं । त्यो कुरा वामदेव गौतमले बुझेकै छैनन् । बैतडी जनताको राजनीतिप्रतिको सचेतना उहाँले बुझ्नु भएको होला भन्ने मलाई लाग्दैन । बैतडीबाट गौतम लड्ने परिस्थिति आयो भने मलाई लाग्छ केपी शर्मा ओलीले आफ्नो खुट्टामा आफै बन्चरो हानेजस्तो हुन्छ ।

निर्वाचनका लागि तपाई तयारी अवस्थामा हुनुहुन्छ ?
म पूरै तयारी अवस्थामा छु । शारीरिक, मानसिकलगायत सबै पक्षबाट म तयारीमै छु । हजारौं युवाहरु एक भएर चुनाव प्रचारप्रसारमा लाग्न तयारी अवस्थामा छन् ।

कांग्रेसभित्र निर्वाचनका क्रममा टिकटमा समस्या हुने गरेको पाइन्छ, यदि बैतडीमा चुनाव हुने भईहाल्यो भने तपाई कत्तिको सहज देख्नुहुन्छ टिकट पाउने कुरामा ?
२०७० सालको संविधानसभाको चुनावमा मैले टिकट मागेको हो । २०७४ सालको चुनावमा टिकट पाउन सकिएन । धेरै कुरा गर्नु थियो । राप्रपासँग सहमती भएका कारण त्यहा छोड्नुपर्ने अवस्था आयो । त्यही राजनीतिक सहमतीका कारण बैतडीमा कांग्रेस पछाडि हटेको थियो । आजको दिनमा जित्ने व्यक्ति कांग्रेसलाई चाहिएको हो भने म कांग्रेसको लागि ‘बेष्ट र योग्य’ छु ।

बैतडीमा कांग्रेसको पहिला पनि आधार राम्रै हो, अहिले त झन् जित्ने कुरा गर्दै हुनुहुन्छ ? सरकारको परर्फरमेन्सका कारण कांग्रेस जित्न सजिलो छ भन्दै हुनुहुन्छ, खास कारण चाँहि बताइदिनुहोस् न ?
निर्मला पन्तको हत्याकाण्डदेखि लिएर सिन्डीकेटका कुराहरुमा सरकार असफल भइसकेको छ । सुन तस्करीका अपराधी पत्ता लगाउने कुरा पनि सरकार असफल छ । देशमा सुशासन ल्याउने कुरा भाषणमा मात्र सीमित भयो । यसले सरकारप्रति कति वितृष्णा रहेछ भन्ने कुरा बैतडीमा हुने भनिएको उपनिर्वाचनले प्रमाणित गर्दछ । यसमा ढुक्क हुनुहोस् ।

नेपाली कांग्रेसमा युवा पुस्तालाई भन्दा पनि पूरानाले हामीले अवसर चाहियो भन्ने अवस्था छ, तपाईजस्ता उर्जाशील युवालाई कांग्रेसले यसपाली पत्याउला ?
पत्याउनुपर्छ । अबका दिनमा कांग्रेसले ४५ वर्षभन्दा मुनिका ४० प्रतिशतभन्दा बढी युवालाई प्रतिष्पर्धा गराउनुपर्छ । देशका युवाहरु राजनीतिप्रति इच्छा जायर गर्छन्, त्यस्ता युवालाई प्रमोशन गर्नुपर्छ । त्यस्ता युवालाई कांग्रेसभित्र भित्र्याउन पनि सजिलो हुन्छ । युवाको आकर्षण बढ्यो भने त्यो संगठन अघि बढ्न कुनै गाह्रो हुदैँन । स्प्रिट र स्किल दुवै हुन्छ युवामा । पार्टीमा जेनेरेसन ग्याप छ । अहिले युवा नेता गगन थापाले आफ्ना बाजे उमेरकासँग प्रतिष्पर्धा गर्नुपर्छ । ४० वर्षको युवाले ८० वर्षको युवासँग प्रतिष्पर्धा गर्नु प्राकृतिक हुदैँ होइन । त्यही कारणले नेचुरुली डेमोक्रेटिक पार्टी भएकाले युवालाई अघि बढाउनु जरुरी पर्छ । यसो हुन सके कांग्रेस अब हुने निर्वाचनहरुमा पहिलो पार्टी हुन्छ । ४५ वर्ष मुनिका ४० प्रतिशत युवालाई राजनीतिमा ग्यारेन्टीका साथ स्थान दिन सकियो भने कांग्रेसभित्र युवाको चार्मिङ बढ्छ । यसले कांग्रेसलाई चलायमान गराउँछ ।

तपाई पनि क्षेत्रीय सभापति हुनुहुन्छ, आफ्नो क्षेत्रमा कस्तो अभियान चलाउनुभएको छ, समग्रमा कांग्रेसले आफ्नो क्षेत्रमा युवालाई अघि बढाउन सकेको छ त ?
क्षेत्रभरी एउटा बुथमा सय भन्दा बढी युवाहरु अभियानमा हिड्नुपर्छ । त्यो अभियान क्षेत्रभरी, जिल्लाभरी चालू हुन्छ । वैतडीमा त्यो अभियान सुरु भइसकेको छ । चौतारीमा बसेर युवा, बृद्व, महिला, दलितसँग खुला बहस सुरु भइसकेको छ । प्रजातन्त्र सुरक्षित गर्न चौतारीदेखि अभियान चलाइसकेको छ । कांग्रेसको हरेक कुरा विश्लेषण गर्दै आगामी दिनमा सफल पार्टी बनाउन अभियान थालिसकेको छ ।

वामदेव त्यहाँबाट उठे कांग्रेसले जित्ने, त्यसमा पनि टिकट आफूले पाउने आधार प्रस्तुत गर्दै हुनुहुन्छ, अझै भन्दिनुहोस् कि मुख्य आधारहरु के के हुन्,कांग्रेसले जित्ने ?
संविधानले नेकपाको सरकारलाई असफल घोषित नगरे पनि व्यवहारतः अहिलेको सरकार असफल भइसकेको छ । ३० देखि ४० वर्षको युवासँग प्रतिष्पर्धा हुदाँ युवाहरु सबै मेरो साथमा रहनेछन् । सत्ताको लागि मात्र सत्तामा जाने नेतासँग मेरो प्रतिष्पर्धा हुदैँ छ भने मलाई त्यो भन्दा सहज के होला र । त्यसमा म गर्व गर्छु कि, बैतडीको दशरथ चन्द जस्ता योद्वा भएका कारण त्यहाँका युवाहरुले एक भएर मलाई भोट हाल्ने छन् ।